
काठमाण्डु, – कालिमाटीस्थित तरकारी तथा फलफूल विकास समितिअन्तर्गत रहेको सुपथ बजार मंगलबार सञ्चालन हुन सकेन ।
सो बजारअन्तर्गत रहेको तरकारी थोक बजार व्यवसायी संस्थाले दुई वर्षअघि आगोलागी भएको बजारको पुनः निर्माण तथा त्यस घटनामा परी ज्यान गुमाएकाका परिवारले क्षतिपूर्ति नपाएको भन्दै बजार बन्द गराए ।
विसं २०६८ फागुन २० गते सो बजारमा विद्युत् सर्ट भई पाँच जनाको मृत्यु तथा करिब १० करोडको क्षति भएको थियो ।
बिहानैदेखि साँझसम्म ठूलो चहलपहल हुने बजारमा दैनिक करिब छ मेट्रिक टन तरकारी तथा फलफूलको कारोबार हुने भए पनि आज बजार बन्द भएपछि सुनसान जस्तो भएको छ । काठमाण्डु उपत्यका बाहिरबाट तरकारी तथा फलफूल बजारमा आउने गर्दछ ।
संस्थाका अध्यक्ष उज्वल कार्कीले सो घटनाले गर्दा बजारको संरचना जीर्ण बन्दै गएर व्यवसायी तथा उपभोक्ता असुरक्षित बन्दै गएकाले सरकारले त्यसको मर्मत सम्भार तथा पुनःनिर्माण गर्न आवश्यक रहेको भन्दै पीडित परिवारलाई अहिलेसम्म केही क्षतिपूर्ति उपलब्ध हुन नसकेकाले त्यसको माग गर्दै आज बजार बन्द गरिएको बताए ।
बजारभित्र करिब २५० बिक्रीस्थल रहेका छन् ।