सुलीबाट बायोमल बनाउने उद्योग सञ्चालनमा

काठमाण्डु टुडे २०७० फागुन १९ गते ११:३३ मा प्रकाशित

चितवन, १९ फागुन – चितवनमा पञ्चरत्न ग्रुपले कुखुराको सुलीबाट आधुनिक बायो (जैविक) मल  उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएको छ  । यो नेपालमै पहिलो उद्योग भएको ग्रुपले दाबी गरेको छ ।

लामो समयदेखि पोल्ट्री व्यवसायमा सहभागी पञ्चरत्न ग्रुप अफ पोल्ट्री इन्डष्ट्रिजको एग्रो हेल्थ बायो टेकले कुखुराको सुली प्रशोधन गरी जैविक मलको उत्पादन थालेको हो ।

उद्योगले आधुनिक जैविक मल तयार गरी बजार पठाउनसमेत थालेको ग्रुपका अध्यक्ष डा. तीलचन्द्र भट्टराईले बताए । माटोको उर्वराशक्ति बढाउन जैविक मल उपयोगी भएको विज्ञहरुले बताएका छन् । बढ्दो विषादीको प्रयोगले माटोको शक्तिमा ह्रास आइसकेका बेला यसरी उद्योग सञ्चालन हुनु सकारात्मक भएको कृषि विज्ञले बताएका छन् ।

पश्चिम चितवनको शारदानगरमा स्थापना गरिएको उद्योग अस्टे«लियाली प्रविधिको हो । यसबाट सुली प्रशोधन गरी दानादार जैविक मल उत्पादन हुन्छ । दुई करोड ५० लाखको लगानीमा स्थापना गरिएको यस उद्योगको दैनिक उत्पादन क्षमता दस टन छ र अहिले परीक्षण उत्पादन सुरु गरिएको छ ।

मलमा बिरुवालाई आवश्यक पर्ने १६ प्रकारका पोषक तत्व, अन्य हर्मोन तथा इन्जाइमहरु उपलब्ध रहेको उद्योगका सञ्चालक डा. भट्टराईले जानकारी दिए ।

मलमा सूक्ष्म प्रकारका खनिज तत्वहरु रहेको तथा यसमा भएका खाद्यतत्व घुलनशील भएकाले बिरुवाले सहजै लिन सक्ने उनको भनाई छ । मलमा दुईदेखि चार प्रतिशत, फस्फोरस तीन प्रतिशत, पोटासियम १.५  देखि दुई प्रतिशत, अर्गानिक कार्बन १८ प्रतिशत, पिएच ७. ५ प्रतिशत, सिएन अनुपात १५.१ प्रतिशत र चिसोपना २०.२५ प्रतिशत रहेको सञ्चालकले बताएका छन् । अहिले मल बजारमा प्लास्टिकको थैलीमा पाइन्छ ।

नेपालमा आफ्नै मलको कारखाना नभएको र विश्वव्यापी रुपमा जैविक मलको माग बढ्दो क्रममा रहेकाले कुखुराको सुली प्रयोग गरी जैविक मल उत्पादन गर्न थालिएको डा. भट्टराईले दिए । कुखुराको सुलीलाई प्रशोधन गरी उत्पादन गरिएकाले यो गन्ध र किटाणुरहित रहेको उद्योगले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us