सगरमाथा आरोहीले आठ किलो फोहोर बुझाउनु पर्ने

काठमाण्डु टुडे २०७० फागुन १९ गते ११:२९ मा प्रकाशित

Everest_kalapatthar_cropकाठमाण्डु, १९ फागुन – सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथामा फोहोर व्यवस्थापनका लागि नयाँ व्यवस्था गरेको छ ।

आरोहणमा जानेहरूले आधार शिविरभन्दा माथिबाट कम्तिमा आठ किलो नष्ट गर्न सकिने तथा नसकिने (अक्सिजन सिलिन्डर र मानव दिशाबाहेक) फोहोरमैला अनिवार्यरुपमा आधार शिविरमा ल्याई सगरमाथा आधारशिविरमा रहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिको सम्पर्क कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

सगरमाथालगायत उच्च हिमाली क्षेत्रको फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवालाहरूसमेतको छलफलबाट आएका सुझावलाई समेत ध्यान दिई सो निर्णय गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सगरमाथाको आधारशिविरमा जम्मा गरिएको फोहोरमैलामध्ये तत्काल नष्ट गर्न सकिने फोहोरमैला सगरमाथा प्रदूषण नियन्त्रण समितिले तत्काल नष्ट गर्ने व्यवस्था मिलाउने र तत्काल नष्ट गर्न नसकिने फोहोरमैला मन्त्रालयको रोहवर एवम् सगरमाथा प्रदूषण नियन्त्रण समिति, नाम्चे र काठमाण्डु महानगरपालिकाको समन्वयमा एकमुष्टरुपमा उचित व्यवस्थापन गरिने बताइएको छ । यो कार्य सफलताको आधारमा आगामी वर्षदेखि अन्य हिमालमा समेत लागू गरिने मन्त्रालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us