रसुवा, १७ फागुन – व्यापार व्यवसाय गरी बसेका सबै व्यवसायीले आफ्नो कारोबार दर्ता गर्न वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले निर्देशन दिएको छ ।
वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका निर्देशक उदयबहादुर रानामगरका अनुसार रसुवा जिल्लाका अधिकांश कारोबार उद्योग तथा व्यवसायमा दर्ता नगरेको भेटिएकाले सात दिनभित्र आफ्नै जिल्लाको घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता गरी त्यसको प्रमाण जिल्ला प्रशासन कार्यालय रसुवामा बुझाउन निर्देशन दिइएको हो ।
वाणिज्य विभागको पहिलो अनुगमनबाट यहाँका पाँच दर्जनभन्दा माथिका व्यवसायीले उद्योग व्यवसाय दर्ता नगरेको, मूल्य सूची नराखेको, मिति सकिएका वस्तु एकै स्थानमा राखेको, मासु तथा तरकारी बिक्री स्थल राम्रो नभएको जस्ता थुप्रै कमजोरी पाइएकाले सुधारका लागि सुझावसमेत दिइएको निर्देशक राना मगरले बताए ।
यस्तै बजार अनुगमनका क्रममा फेला परेका उपभोग गर्ने म्याद सकिएका सय लिटरभन्दा बढी कोक, फेन्टा तथा पेप्सीजस्ता पेय पदार्थका साथै केही तरकारीसमेत नष्ट गरिएको निरीक्षक ढुण्डीराज पोखरेलले जानकारी दिए ।