सौराहामा लगानी थपिँदै

काठमाण्डु टुडे २०७० फागुन १६ गते ११:११ मा प्रकाशित

चितवन, १६ फागुन – चितवनको सौराहा क्षेत्रमा लगानी बढ्दै गएको छ । शान्ति सुरक्षामा सुधार आएकाले विषेशगरी व्यवसायीले होटलमा करोडौंको लगानी गर्न थालेका छन् ।

१० करोड बढीको लागतमा क्यासिनोसहितको होटल खुलेको दुई महिना नबित्दै करिब १५ करोडको लागतमा सौराहाको बाघमारामा अर्को एउटा सुविधायुक्त ल्यान्डमार्क फरेस्ट पार्क सञ्चालनमा आएको छ ।

पोखराको सम्राट ग्रुपले उक्त होटल सञ्चालनमा ल्याएको हो । उक्त ग्रुपले विगत सात वर्षदेखि पोखरामा तारे होटल ल्यान्डमार्क सञ्चालन गर्दै आएको छ ।

ग्रुपले आगामी समयमा काठमाण्डु र लुम्बिनीमा पुनः ल्यान्डमार्क सञ्चालन गरेर प्रमुख पर्यटकीय गन्तव्यमा आफ्नो नेटवर्क फैलाउने होटलका महाप्रबन्धक शरद प्रधानले जानकारी दिए ।

चितवनमा सञ्चालनमा आएको ल्यान्डमार्क सौराहामा उच्च सुविधायुक्त रहेको दाबी गरिएको छ । कुल ५२ वटा बातानुकूलित कोठा रहेको र उक्त कोठालाई ९५ देखि ११५ डलरमा पर्यटक राख्ने होटलका प्रमुख कार्यकारी अधिकृत नारायण पाण्डेले बताए ।

नेपालीलाई भने ६० प्रतिशत छुटमा कोठा दिने गरिएको उनले बताए । आगामी एक महिनाका लागि विभिन्न देशबाट होटल बुक भइसकेको उनको भनाई छ ।
होटलमा स्थानीय सामग्री प्रयोग गर्ने र स्थानीयलाई प्राथमिकता दिएर रोजगारी दिने सञ्चालकले बताएका छन् ।

सौराहामा करोडभन्दा बढी लगानीका होटल दुई दर्जन भइसकेका छन् । सबै गरेर यहाँ १०० सुविधायुक्त होटल खुलिसकेका छन् भने लगानी गर्ने क्रम जारीरहेको क्षेत्रीय होटल सङ्घ सौराहाले जानकारी दिएको छ ।

नेपालको काठमाण्डु र पोखरापछिको मुख्य पर्यटकीय गन्तव्य चितवनको सौराहा हो । त्यहाँ जाने पर्यटक जङ्गली जनावरको अवलोकनमा लालायित हुने गर्दछन् ।
हात्ती सफारी, जीप सफारी, ऊँट सफारी, इलिफेन्ट बाथ, राप्ती नदीमा सूर्यास्तको दृश्य, हात्ती प्रजनन् केन्द्र तथा चितवन निकुञ्जमा दुर्लभ एकसिङ्गे गैंडाको प्रत्यक्ष अवलोकन एवम् थारुको संस्कृति अवलोकनमा पर्यटक लोभिने गर्दछन् । व्यवसायीले पर्यटकलाई प्याकेजको व्यवस्था गरेर सबै सेवा उपलब्ध गराउँदै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us