दोलखास्थित प्रसिद्ध भीमेश्वर मन्दिरलाई आकस्मिक पसिना आइरहँदा राजधानी काठमाण्डुले राष्ट्रपति भवन शीतल निवासमा नयाँ मन्त्रीहरुको सपथ ग्रहण गराउँदै थियो ।
दुई सातासम्म मन्त्रालय र मन्त्रीको टुंगो लगाउन नसकेका कारण मन्त्रिमण्डलबिनाको प्रधानमन्त्री बन्न विवश सुशील कोइरालाका लागि सरकारलाई पूर्णता दिनु नै मुख्य उपलब्धी हो ।
संविधानसभाको दोस्रो निर्वाचनपछि कठिन राजनीतिक समीकरणबीच सरकारको नेतृत्व गरेका काँग्रेस सभापति कोइरालाले २१ सदस्यीय मन्त्री बनाउँदा पनि सरकार पूर्ण हुन सकेको छैन । राप्रपा, नेकपा मालेलगायत साना दलका कोटाका मन्त्री आफैं सुशीलकै कोटका खल्तीमा छन् ।
परम्परागत जनविश्वास अनुसार प्राचीन भीमेश्वर मन्दिरलाई पसिना आउनु राजकीय अनिष्टको पूर्वसंकेत मानिन्छ । कोइराला सरकारको विस्तार र भीमेश्वरको पसिना संयोगवसका परिघटना मात्रै पनि हुन सक्छन् त्यस्तो नराम्रो केही नहोस् पनि । तथापि विहानले दिनको संकेत गर्छ भनेझैं सरकार विस्तारमा भएको भद्दा, विलम्ब, जम्वो मन्त्रीपरिषद्, गैरनिर्वाचित मन्त्रीहरु स्वभाव नमिल्दा मन्त्रीहरु र अझै विस्तार हुन बाँकी मन्त्रीमण्डल आदिको पृष्ठभूमिमा भीमेश्वरलाई आएको पसिना कोइराला सरकारकै पूर्व अनिष्टका रुपमा अथ्र्याउन पनि सकिन्छ ।
यो सरकार जनअपेक्षित सानो, छरितो र चुस्त रहेन, भएन र हुन सक्ने देखिएन । नेपालजस्तो विकासशील सानो देशलाई कोइराला क्याविनेट धेरै भद्दा, ठूलो, महंगो देखियो । लामो विवाद गृह एमालेलाई र एमालेका पनि वामदेव गौतमलाई दिने–नदिने विवादबाट गुज्रिएर अन्ततः वामदेवकै पोल्टोमा गृह पर्नु पनि सरकार प्रमुख कोइरालाका लागि ‘नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाबु’को अनुहार सरह हुन गयो ।
अधिकांश काँग्रेसजनको मनसुवा विपरीत दोस्रो वरियतामा वामदेवलाई उपप्रधान र गृहमन्त्री नियुक्त गरिरहँदा सुशील कोइरालाले आत्मघाती हस्ताक्षर गरेको टिप्पणी गर्ने कांग्रेसजनहरुको बजारमा बाहुल्य छँदैछ । निष्कलंक, निर्विवाद र वेदाग छविका वयोवृद्ध प्रम सुशीलका लागि हडबडे, जे पर्ला पर्ला तर ठोक निर्णय बरु अघि भन्ने निकै आक्रामक र हस्तक्षेपकारी स्वभावका वामदेव सहज सहकर्मी होइनन् । देशको दैनिक शासन÷प्रशासन संचालनसँग जोडिएको गृह प्रतिस्पर्धी दलका खरा वाम नेताको पोल्टोमा पर्दा प्रधानमन्त्रीको छायाँमा सरकार होइन, गृहमन्त्रीको छायाँमा सुशील सरकार पर्न नसक्ला भन्न पनि सकिदैन ।
फेरि नेकपा एमालेले आन्तरिक पार्टी सन्तुलन मिलाउन अझै केपी ओली, झलनाथ खनाल र स्वयम् वामदेव खेमाका व्यक्तिलाई जागिर खुवाउने शैलीमा नयाँ र अनुभवहीन डफ्फालाई मन्त्री बनाएका कारण सुशील क्याविनेटमा मन्त्रीहरुको वेभलेन्थ, स्पिरिट नमिल्न सक्छ । कही नभएको जात्रा हाँडीगाउँमा भनेझैं अनिर्वाचितलाई मन्त्री बनाउने संवैधानिक सुविधा उपयोग गरिरहँदा एमालेले जनादेशको खिल्ली मात्रै उडाएको छैन, दुनियाँकै सामु राजनीतिक जग हसाइ गरेको छ । यसको परोक्ष अपजस सेताम्य दाह्री कपाल फुलेका निमसरा देखिने प्रम सुशीलको टाउकोमा पर्छ ।
शान्ति सुव्यवस्था कायम गर्ने नाममा होस् वा पार्टीको जय होस् गर्नका खातिर नै किन नहोस् कानुनको राज गराउने होइन उस्तै परे कानुन नै हातमा लिन पछि नपर्ने स्वभावका खरा गृहमन्त्री गौतम कांग्रेसी प्रम कोइरालाका लागि सन्निकट स्थानीय चुनावमा धाँधली गर्ने राजकीय शक्ति विन्यास पनि हुन् । किनकि काठमाण्डु टुडिखेलमै एमालेबाट नै भ्रष्टाचारी घोषित गौतम फेरि एमालेकै स्वच्छ छवि बनेका छन् । ०५४ को स्थानीय चुनावमा त्यतिबेलाका प्रम लोकेन्द्रबहादुर चन्दलाई छायाँमा पारेर एमालेलाई २ तिहाई बढी विजयी दिलाउने वामदेव शक्तिशाली बनेका थिए ।
सुशील नयाँ संविधान बनाउने र डेढ दशकदेखि रिक्त स्थानीय चुनाव गराउने मूलभूत कार्यलक्ष्यमा अघि बढ्न इच्छुक छन् । ढिलोचाँडो हुने स्थानीय चुनावमा कोइरालाका बाधक नै वामदेव शैली नबन्ला भन्न सकिन्न । उसै त एमालेहरु त्यसमा पनि वामदेव खेमा र नेतृत्वका भनिसकेपछि कमाउने, मोटाउने र बन्ने बनाउने खेतीमा बढी से बढी एमाले मन्त्रीहरु नलाग्लान भन्न सकिन्न । कतैबाट कारवाही नगरिएका भए पनि भ्रष्ट र दागपूर्ण छविका वामदेव समूह सुशील सरकारको छवि विगार्ने कारक नबन्लान भन्न सकिन्न ।
त्यसो त कांग्रेस मन्त्रीहरुबाटै पनि कमाउ खेती नचल्ला र कोइराला सरकार स्वच्छ बन्ला भन्ने कामना गर्न पनि वाहियात नै हुनेछ । खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले र जयप्रकाशप्रसाद गुप्ताहरु चारताराको झण्डामुनिका रुखमा पल्किएका र अदालतले प्रमाणित गरेका उम्दा भ्रष्टको बाउ स्वयं सुशीलको कांग्रेस हो ।
सुशील त्यसका मौजुदा वीरतावाल हुन सभापतिका रुपमा । नीति तथा कार्यक्रम, बजेट र दैनिक सरकारको तौरतरिका आदिबाट सुशील सरकार जनमैत्री, विकासवादी, स्वच्छ र राष्ट्रवादी देखिएला÷नदेखिएला जनपरिक्षित हुन बाँकी छ । तर जनताको अग्नि परीक्षामा सामेल भइरहँदा नै सरकारले लौ है भनेजस्तो क्याविनेट बन्यो हो भन्ने सकारात्मक सन्देश स्थापित र विस्तारित गर्न चुकेबाट भीमेश्वरलाई आएका पसिना प्रम कोइरालाका लागि अशुभ हुन गएमा त्यो अन्यथा नहुन सक्छ । पहिलो गाँसमै ढुंगा भनेझैं हो यो सुशील सत्ताको ।
व्यवस्थापिका संसदको जिम्मेवारी बोकेको संविधानसभाका रिक्त २६ सदस्यको मनोनयन गर्दै सभालाई दैनिक विजनेश दिने र घोषित वर्षदिनभित्र नयाँ संविधान जारी गराउन कार्यकारी अंगका रुपमा नेतृत्वदायी र सहजकर्ता देखिनु कोइराला सरकारका लागि अनिवार्य तर असजिला प्रमुख कार्यसूची हुन् । भ्रष्टाचारमुक्त र सुशासनमुखी सरकारको नमूना पेश गर्नु त फलामकै चिउरा सावित हुन सक्छ ।
देशका ३७औं सरकार प्रमुख कोइरालाका राजकीय निर्णय क्षमता र कार्यसम्पादन शैलीले नै प्रमाणित गर्नेछ कि उनी असल शासक हुने छन् वा जुन जोगी आए पनि कानै चिरिएका भनेझैं सावित हुनेछन् । तर भर्खरै सिंहदरबारको सत्ता सम्हाल्दै गरेका कोइराला विगत सरकारहरुझैं उस्तै, पुरानै जस्तै होइन भिन्न र मौलिक जनपक्षीय कार्यशैलीका फरक, असल र सफल बन्न सकून जनजनको झैं हाम्रो पनि शुभेच्छा, शुभकामना ! आगे जो गर्लान् उनैले उसै अनुरुप टिप्पण गर्दै जाउँला । यसै हैन त पाठकवृन्द कि कसो त ?
email : [email protected]