अठ्तीस प्रतिशतभन्दा बढी खाद्यान्न आपूर्ति

काठमाण्डु टुडे २०७० फागुन १५ गते ११:१७ मा प्रकाशित

khadhyannaवीरगन्ज, १५ फागुन – जिल्लामा चाहिने आवश्यक खाद्यान्नभन्दा पर्सामा झन्डै ३८ प्रतिशतभन्दा बढी खाद्य आपूर्ति गर्दै आएको छ ।

जिल्लामा कुल एक लाख ९६ हजार १४६ मेट्रिक टन उपभोग्य खाद्यान्नमध्ये ७३ हजार ६३८ मेट्रिक टन खाद्यान्नमात्र आवश्यक पर्दछ । बाँकी एक लाख २२ हजार ५०८ मेट्रिक टन खाद्यान्न बढी हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लालाई चाहिने खाद्यन्नमध्ये सबैभन्दा बढी धानले करिब ५४ प्रतिशत खाद्य आपूर्ति गर्दै आएको छ । जिल्लामा सरदर ४६ हजार ७०० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ ।

त्यसबाट करिब एक लाख ९३ हजार २७० मेट्रिक टन धान उत्पादन हुने गरेकामा तीमध्ये करिब एक लाख पाँच हजार मेट्रिक टनमात्र उपभोग गर्ने गरेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लामा कुल उपभोग्य खाद्यमध्ये गहुँले ३८ प्रतिशत र मकैले आठ प्रतिशत आपूर्ति गर्दै आएको छ । जिल्लामा सरदर २३ हजार ६०० हेक्टर क्षेत्रफलमा हुने गरेको गहुँखेतीबाट करिब ८९ हजा ६८० मेट्रिक टन गहुँ उत्पादन हुने गरेका छन् ।

तीमध्ये गहुँको उपभोग्य पर्सामा ७३ हजार ९४३ मेट्रिक टन रहेको छ ।

त्यस्तै जिल्लामा कुल एक लाख ९६ हजार १४६ मेट्रिक टन उपभोग्य खाद्यान्नमध्ये मकैले १७ हजार १३० मेट्रिक टन आपूर्ति गर्दै आएको छ ।

जिल्लामा सरदर पाँच हजार ४२० हेक्टर क्षेत्रफलमा हुने गरेको मकैखेतीबाट २१ हजार २५७ मेट्रिक टन मकै उत्पादन हुने गरेको छ । तीमध्ये १७ हजार १३० मेट्रिक टन मकै उपभोग हुने गरेको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक सुरेश चौरसियाले बताए ।

हाल नेपालमा मकैले २६ प्रतिशत र धानले ४४ प्रतिशत खाद्य आपूर्ति गर्दै आएको छ । कुल एक हजार ३५३ वर्ग किलोमिटर क्षेत्रफल रहेको पर्सा जिल्लामा ५४ हजार ७७२ हेक्टर क्षेत्रफल कृषियोग्य जमिन मानिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us