वामदेवले भने, ‘माधव नेपाललाई चाहिं कारबाही हुनुपर्दैन ?’

काठमाण्डु टुडे २०७० फागुन १५ गते १३:३० मा प्रकाशित

bamdevकाठमाण्डु, १५ फागुन – उपप्रधानतथा गृहमन्त्री वामदेव गौतमले आफ्नै पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी निर्णय मान्दिन भनेकोप्रति कडा टिप्पणी गरेका छन् ।

रिपोटर्स क्लवले विहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै गौतमले पार्टी निर्णय मान्दिन भन्ने नेता नेपाललाई कारबाही नभएकोमा गुनासो गरे ।

‘पार्टी निर्णयबिपरीत बोल्दा म धेरै पटक कारबाहीमा परेको छु, गौतमले भने, ‘स्थायी कमिटीको बैठकमा नआउने र निर्णय पनि मान्दिन भन्ने नेता नेपाललाई कसले कारबाही गर्ने ?’

उनले थपे, ‘१६ वर्ष पार्टीको, १७ वर्ष संसदीय दलको नेताको जिम्मेवारी पूरा गरेको, प्रधानमन्त्री भइसकेको व्यक्तिलाई कसले कारवाही गर्ने ? कारबाही गर्ने सोच पनि छैन, कारबाही हुँदैन पनि ।’

साथै गौतमले आफू सेरेमोनियल उपाध्यक्ष भएको बताए । ‘उहाँ अध्यक्ष पछि दोस्रो आसनमा बस्नु हुन्छ । म चौथो आसनमा बस्ने सेरेमोनियल ब्यक्तिले उहाँलाई कसरी कारवाही गर्न सक्छु र ? गौतमको प्रश्न छ ।’

नेपालले आफूलाई गृहमन्त्री बन्न नदिने खेल खेलेको बुझेका वामदेवले त्यसको तितो पोखेका हुन् । क्याम्प परिवर्तन गर्न ओलीतर्फ ढल्किएका गौतमले भने, ‘केपी कंरेड ओली संसदीय दलको नेता बनेपछि उहाँको मलाई हेर्ने दृष्टिकोणमा फरक आएको छ ।’

साथै गौतमले सरकारमा नेपाल पक्षका ३ जना मन्त्रिमण्डलमा सहभागी भएको जानकारी दिए । आफूबाहेक सरकारमा जाने नौ जनामा पार्ने गरी नेपालले १५ जनाको नाम दिएको उनको खुलासा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us