अफगानिस्तानमा ३७ तालिवान मारिए

काठमाण्डु टुडे २०७० फागुन १५ गते ८:५७ मा प्रकाशित

अफगानिस्तान, १५ फागुन – अफगानिस्तानमा तालिवानविरुद्ध त्यहाँका सुरक्षा निकायले शृङ्खलाबद्ध रुपमा बुधबार बिहानदेखि जारी राखेको कारबाहीमा ३७ आतंककारीको ज्यान गएको छ ।

अफगानिस्तानको गृह मन्त्रालयले गत २४ घण्टाभित्र गरेको कारबाहीको क्रममा ३७ जना तालिवान सशस्त्र लडाकूको मृत्यु भएको जानकारी एक विज्ञप्तिमार्फत बिहीबार दिएको छ ।

अफगान राष्ट्रिय सुरक्षाबलले जाबुल, लोगार, खोस्त, पाक्टिका, हेरात, हेलमान्ड र निम्रोज  प्रान्तमा  सो कारबाही जारी राखेको  जनाइएको छ । यस कारबाहीको क्रममा ३७ सशस्त्र तालिवान आतङ्ककारीको मृत्यु हुनुका साथै अन्य आठ तालिवान आतङ्ककारी घाइते भएका र छजना पक्राउ परेको बताइएको छ ।

कारबाहीको क्रममा तालिवान लडाकूको मृत्युको विषयलाई लिएर करिब एक दशकभन्दा बढीदेखि अफगानिस्तानमा युद्धरत तालिवान आतङ्ककारी समूहले भने हालसम्म केही टिप्पणी नगरेको जनाइएको छ ।

सन् २०१४ को अन्त्यसम्ममा अफगानिस्तानबाट नेटो सैनिक फिर्ता गरिसक्ने घोषणा यसअघि नै सबै देशले गरिसकेका छन् । त्यसै कारण हालका दिनहरुमा अफगानिस्तानकको सबै सुरक्षाको जिम्मा अफगान सुरक्षाबलले नै लिएका छन् ।

अफगानिस्तानका आफ्ना सुरक्षाकर्मीबीचको मनोबल तथा क्षमता बढाउनका लागि यसै वर्ष हुनलागेको राष्ट्रपतीय निर्वाचनमा पनि राष्ट्रिय सुरक्षा निकायलाई नै परिचालित गर्ने निर्णय पनि सरकारले हालै गरेको थियो ।

यद्यपि अफगान सुरक्षाबललाई लक्ष्यगरी तालिवान आतंककारी समूहले बारम्बार आक्रमण गर्दै आएका छन् । गत मङ्गलबार पनि अफगानिस्तानको दक्षिणी उरुज्गान प्रान्तमा एक होटेलमा भएको आत्मघाती आक्रमणमा १० सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ४० घाइते भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us