उपाध्यक्ष घर्तीद्वारा पद तथा गोपनियताको शपथ

काठमाण्डु टुडे २०७० फागुन १४ गते १३:१९ मा प्रकाशित

DSC_5036काठमाण्डु, १४  फागुन – संविधानसभा अध्यक्ष सुवास नेम्वाङले नवनिर्वाचित संविधानसभाका उपाध्यक्ष ओन्सरी घर्तीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । संविधानसभाका भवनमा बुधबार घर्तीलाई सपथ ग्रहण गराईएको हो ।

संविधानसभाको बैठकले एकीकृत नेकपा माओवादीका सभासद् घर्तीलाई बहुमतले उपाध्यक्ष पदमा निर्वाचित गरेको थियो । घर्तीले कूल उपस्थित ४८९ सभासद् मध्ये ४८४ मत प्राप्त गरेकी थिइन् ।

उनी रोल्पा क्षेत्र २ बाट निर्वाचित सभासद् हुन । ओनसरीको विपक्षमा नेमकिपा र नेपाः राष्ट्रिय पार्टीको पाँच मत परेको थियो ।  सो पदका लागि नेमकिपाले अनुराधा थापालाई उम्मेद्वार बनाएको थियो ।

सभासद् घर्तीका पक्षमा नेपाली काँग्रेस, नेकपा एमाले, एमाओवादी, राप्रपा नेपाल, राप्रपा, तराई–मधेस लोकतान्त्रिक पार्टीलगायत अधिकांश दलले मतदान गरेका थिए । संविधानसभा अध्यक्षमा यही फागुन ६ गते एमालेका सुवास नेम्वाङ निर्विरोध निर्वाचित भएका थिए ।

अन्तरिम संविधानअनुसार संविधानसभाका अध्यक्ष र उपाध्यक्ष क्रमशः व्यवस्थापिका–संसद्को पनि पदेन सभामुख र उपसभामुख हुने व्यवस्था छ ।
शपथग्रहण कार्यक्रम विभिन्न राजनीतिक दलका नेता, सांसद तथा संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको उपस्थिति थियो ।

पद तथा गोपनियताको शपथग्रहणपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उपाध्यक्ष घर्तीले एक वर्षभित्र संविधानसभाबाट संविधान जारी गर्ने वातावरणका लागि आफूले निष्पक्षरुपमा कार्यसम्पादन गर्ने प्रतिवद्धता जनाईन् ।

विगतमा संविधानसभाले गरेका कार्यको आधरामा टेकेर अगाडि बढ्न आवश्यक भएको चर्चा गर्दै उनले सहमति र सहकार्यको आधारमा संविधान निर्माणमा लाग्न दलहरुलाई सुझाव दिईन् ।

घर्तीले आजै सिंहदरवारस्थित संसद सचिवालयमा आफ्नो कार्यभार सम्हालेकी छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us