साझाको आम्दानी तीन करोड ६० लाख

काठमाण्डु टुडे २०७० फागुन १४ गते १०:५८ मा प्रकाशित

Sajha-Yatayatललितपुर, १४ फागुन – सञ्चालनको एक वर्ष बित्नै लाग्दा साझा यातायातले यात्रुबाट तीन करोड ६० लाख २५ हजार ६०० आम्दानी गरेको छ ।

विभिन्न कारण २०६४ सालको जेठदेखि साझाका सबै सेवा बन्द भएका थिए । पछिल्लो पटक २०७० वैशाख १ गतेदेखि पुनः सञ्चालनमा आएको सो यातायातले राम्रो आम्दानी गर्दै अगाडि बढेको देखिन्छ ।

साझाका अहिले १६ वटा बस सञ्चालनमा रहेका छन् । सञ्चालनमा आएको १० महिना पूरा हुँदा २४ लाख ७२ हजार ६१४ जना यात्रुले यात्रा गरेका छन् । उनीहरूलाई दिएको टिकटबाट रु तीन करोड ६० लाख २५ हजार ६०० उठेको छ ।

अन्य बसले जति दूरीको यात्रा गरेपनि पूरै भाडा लिँदै आएकामा साझाले भने रुट र दूरीअनुरूप निश्चित भाडा लिँदै आएको छ । साझाले १०, १५, १७ र २० टिकटबाट भाडा असुल्दै आएको साझाका प्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिए ।

चालकसहित ५५ सिट क्षमताको उक्त बसमा १५ जनाले उभिएर समेत मात्रा गर्न सकिने उनले बताए । यात्रुको मागलाई मध्यनजर गर्दै साझा आफ्नो सेवा विस्तार गर्न आर्थिक स्रोत जुटाउन क्रियाशील छ । उपत्यकामा अरु बस थप्ने र उपत्यका बाहिर पनि बस सेवा सञ्चालन गर्ने सोच साझाले राखेको प्रबन्धक पाण्डेले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us