फूटपाथका व्यापारी लखेट्दै वामदेव

काठमाण्डु टुडे २०७० फागुन १४ गते १०:१६ मा प्रकाशित

bamdevकाठमाण्डु, १४ फागुन – वामदेव गौतम उपप्रधान तथा गृहमन्त्री बनेको भोलिपल्टै सडकमा त्यसको प्रभाव देखिएको छ । कार्यभार सम्हालेको दिन नै आफू मातहतका निकायलाई गौतमले ५ बुँदे निर्देशन दिएका थिए ।

सोही निर्देशन अनुसार फूटपाथका व्यापारी हटाउन थालिएको छ । महानगरीय प्रहरीले बुधबार अनामनगर लगायतका क्षेत्रका फूटपाथ व्यापारीहरुलाई हटाएको छ । प्रहरीले ठेला लगायतका साधनमा सडकमा व्यापार गर्नेहरुलाई लखेटेको छ, भने केहीलाई नियन्त्रणमा लिएको छ ।

वामदेवको ५ बुँदे निर्देशनको तेस्रो बुँदामा, ‘राजधानीभित्रका फूटपाथ कब्जा गरी व्यापार व्यावसाय गरिरहेका व्यापारीहरुलाई वैकल्पिक व्यवस्था गर्दै सडक यातायातलाई व्यवस्थित गर्ने,’ उल्लेख छ ।

यसअघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकारमासमेत गृहमन्त्री बनेका वामदेवले सो समय पनि फुटपाथ खाली गर्ने र रात्री व्यवसायलाई व्यवस्थित पार्ने कामलाई प्राथमिकता दिएका थिए ।

यस्तो छ गौतमको पाँचबुँदे निर्देशन
१. राजधानीका विभिन्न सार्वजनिक स्थानमा अवैधानिक ढंगले बसोबास गरिरहेका व्यक्ति तथा परिवारको पहिचान गरी वैकल्पिक बसोबासको व्यवस्था मिलाई त्यस्ता स्थान सार्वजनिक हितमा उपयोग गर्ने ।
२. उपत्यकालगायत मुलुकभित्र विद्यमान गुण्डागर्दी र दादागिरीलाई कानुन बमोजिम नियन्त्रण गर्नको लागि विशेष अभियान सञ्चालन गरी सर्वसाधारणलाई शान्ति, सुरक्षा र अमनचयनको पूर्ण प्रत्याभूति प्रदान गर्ने ।
३. राजधानीभित्रका फूटपाथ कब्जा गरी व्यापार व्यावसाय गरिरहेका व्यापारीहरुलाई वैकल्पिक व्यवस्था गर्दै सडक यातायातलाई व्यवस्थित गर्ने ।
४. भ्रष्टाचारजन्य कार्यमा शून्य सहनशिलता अपनाई जनतामा प्रवाह गरिने सेवालाई भरपर्दो, गुणस्तरीय र प्रभावकारी बनाउन गृह मन्त्रालयले आफ्ना मातहतका सबै निकायहरुमार्फत नेतृत्वदायी भूमिका निर्वाह गर्ने ।
५. उपरोक्त कार्यमार्फत सुशासन कायम गर्दै एक वर्षभित्र जनअपेक्षा मुताविकको संविधान जारी गर्ने वातावरण निर्माण गर्ने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us