
तनहुँ, १३ फागुन – तनहुँ जिल्लामा टनेल (प्लास्टिक घर) बनाएर गोलभेँडाखेती गर्ने किसानको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।
जिल्ला कृषि विकास कार्यालय तनहुँले दिएको जानकारीअनुसार तनहुँको ७२ किलोमिटरभित्र पर्ने पृथ्वीराजमार्ग आसपासका स्थानमा टनेल बनाएर व्यावसायिक रूपमा गोलभेँडाखेती गर्नेको सङ्ख्या बढेको हो ।
जिल्लामा केही वर्षअघिसम्म गोलभेँडाको व्यावसायिकखेती गर्नेको सङ्ख्या न्यून रहेकोमा पछिल्लो समय विभिन्न भागमा गरी करिब २०० को हाराहारीमा टनेल निर्माण गरी व्यावसायिक रूपमा नै खेती गर्ने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
तनहुँमा गत वर्ष मात्र करिब एक हजार ५६० मेट्रिक टन गोलभेँडा उत्पादन भएको थियो । गत वर्षको तुलनामा यो वर्ष मौसम राम्रो भएकाले उत्पादनमा वृद्धि हुनसक्ने बताइएको छ ।
सो कार्यालयका अनुसार किसानले व्यावसायिकरूपमा सिर्जना, सूर्य १०१ र अमिता जातका गोलभेँडाको खेती गर्ने गरेको वरिष्ठ बागवानी विकास अधिकृत डोलकृष्ण सुवेदीले बताए ।
करिब ६० वर्गमिटरको एउटा टनेलबाट करिब रु चार हजारसम्म आम्दानी गर्न सकिने कृषकहरु बताउँछन् । एउटा टनेल बनाउन करिब १५ हजार खर्च हुने र त्यसबाट करिब पाँच पटकसम्म गोलभेँडाखेती गर्न सकिने उनीहरूले बताएका छन् ।
यसरी उन्नत किसिमबाट खेती गर्दा एउटा बिरुवाबाट एक सिजनमा करिब आठ किलोसम्म उत्पादन लिन सकिने बताइएको छ उन्नत तरिकाबाट खेती गर्दा किसानलाई राम्रो आम्दानी हुने र बढी उत्पादन भएको समयमा पोखरा, लमजुङ र गोर्खाका बजारमा समेत गोलभेँडा बिक्री हुने गरेको छ । अन्य समयमा भने जिल्लाभित्र नै खपत हुँदै आएको बताइएको छ ।