धौलागिरिका ४९ सहकारी कारबाहीमा

काठमाण्डु टुडे २०७० फागुन १३ गते ११:०६ मा प्रकाशित

म्याग्दी, १३ फागुन – सहकारी डिभिजन कार्यालय बागलुङले यस वर्ष धौलागिरि अञ्चलका ४९ सहकारी संस्थालाई कारबाहीको तयारी गरेको छ ।

नियमित विवरण नबुझाएको र सञ्चालन अवस्थाको बारेमा जानकारी नगराएका सहकारी संस्थालाई कारबाहीका लागि प्रक्रिया सुरु गरेको कार्यालयले जनाएको छ ।

म्याग्दीका छ, बागलुङका १७, पर्वतका ३२ र मुस्ताङका चारवटा सहकारीलाई कारबाहीको प्रक्रिया सुरु गरेको हो ।

लेखापरीक्षण प्रतिवेदन, नाफा विवरणको योजना, सञ्चालकहरुको नामावली तथा बाँकी कार्यविधिको विवरण, साधारणसभाको बैठक र मासिक प्रगति प्रतिवेदन नबुझाउने संस्थाहरुलाई कारबाहीको तयारी भएको सहकारी डिभिजन कार्यालय बागलुङका प्रमुख विष्णुप्रसाद सुवेदीले बताए ।

कार्यालयले सहकारी ऐन–२०४८ को दफा ३४ बमोजिम सञ्चालन नभएका सहकारीलाई सचेत गराएर चेतावनीपत्रसमेत पठाइसकेको जानकारी दिएको छ । धौलागिरि अञ्चलमा हाल ७९९ सहकारी संस्था सञ्चालनमा रहेका छन् ।

बागलुङका ३४७, पर्वतका २४९, म्याग्दीका १७२ र मुस्ताङ जिल्लाका ३१ सहकारी संस्थामा कुल एक अर्ब ४२ करोड ४५ लाख ७० हजार सेयर लगानी रहेको कार्यालय प्रमुख सुवेदीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us