कोइरालाको प्रतिबद्धताबाट बान उत्साहित

काठमाण्डु टुडे २०७० फागुन १३ गते १०:०७ मा प्रकाशित

Ban-ki-moonकाठमाण्डु, १३ फागुन । संयुक्त राष्ट्रसङ्घका महासचिव बानकी मुनले प्रधानमन्त्री सुशील कोइरालाले एक वर्षभित्र नयाँ संविधान बनाउने प्रतिबद्धता संविधानसभासमक्ष व्यक्त गरेकोप्रति आफू उत्साहित भएका बताएका छन् ।

महासचिव बानले कोइरालाई बधाई सन्देश पठाउँदै एक वर्षभित्र संविधान जारी गर्ने प्रतिवद्धताबाट आफू उत्साहित भएको उल्लेख गरेका छन् ।

‘तपाईंको नेतृत्वमा नयाँ संविधान जारी गर्ने नेपालको ऐतिहासिक दायित्व पूरा हुने तथा वास्तविक मेलमिलाप र राष्ट्रिय संवाद एवम् छलफल प्रवद्र्धन हुनेमा मेरो दृढ विश्वास छ’, महासचिव बानले सन्देशमा भनेका छन् ।

प्रधानमन्त्री कोइरालाका हरेक प्रयासमा संयुक्त राष्ट्रसङ्घको निरन्तर सहयोग रहने प्रतिबद्धता पनि महासचिवले व्यक्त गरेका छन् । राष्ट्रसङ्घीय गतिविधिमा नेपालको सक्रिय सहभागिताको सह्राहना गर्दै उनले विश्व शान्ति स्थापनामा नेपालले पुर्याएको विशेष योगदानको प्रशंसासमते गरेका छन् ।

जलवायु परिवर्तनसम्बन्धी अल्पविकसित मुलुकहरूको समूह र सहस्राब्दी विकास लक्ष्य प्राप्तिमा नेपालले निर्वाह गरेको नेतृत्वदायी भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै महासचिव बानले हाल विश्वले झेल्नु परेका चुनौतीको सामना गर्न राष्ट्रसङ्घलाई अझ प्रभावकारी एवम् फलदायी तुल्याउनमा नेपालको योगदान रहेको सन्देशमा उल्लेख गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us