‘आकारको बलमा नभइ विचारको आधारमा संविधान’

काठमाण्डु टुडे २०७० फागुन १३ गते ८:३५ मा प्रकाशित

Ashok-Raiखोटाङ, १३ फागुन – संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले अब बन्ने संविधान पार्टीको आकारको बलमा नभइ विचारको आधारमा बनाउनुपर्ने बताएका छन् ।

२१ औँ जिल्ला परिषद् उद्घाटन गर्न गृह जिल्ला पुगेका राईले बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

उनले आकारको आधारमा बन्ने संविधान जनताको पक्षमा नहुने भन्दै सबैको विचारको आधारमा बन्ने संविधानमात्रै जनताको संविधान हुने बताउ । ‘यसमा ठूला दलले विशेष ध्यान नदिए देश ठूलो दुर्घटनामा फस्न सक्छ,’ राईले भने ।

सभासद् राईले देशका ठूला राजनीतिक दलका नेताहरु जनताको संविधान निर्माणमा भन्दा पनि कसरी सत्ता हात पार्न सकिन्छ भन्ने खेलमा लागेको आरोप लगाए । अब बन्ने संविधानमा न्याय प्रणाली संघीय ढाँचाको हुनुपर्नेमा जोड दिदै उनले केन्द्रीकृत न्याय प्रणाली हुँदा जनस्तरसम्म प्रभावकारी काम हुन नसक्ने बताए ।

सदरमुकाम दिक्तेलस्थित पार्टी कार्यालयमा भएको कार्यक्रममा अध्यक्ष राईले संघ निर्माण गर्दा इतिहास, भूगोल, भाषा, धर्म, संस्कार–संस्कृतिको आधारमा गरिनुपर्ने बताए ।

जिल्ला परिषदको प्रमुख अतिथि तोक्ने विषयमा दलहरुबीच लामो समयसम्म विवाद भएपछि जिल्ला प्रवेशमा रोक लगाउने दल नेकपा (एमाले)ले प्रमुख अतिथिमा अध्यक्ष राईलाई प्रस्ताव गरेको थियो ।

एमालेले गरेको प्रस्ताव अन्य दलले स्वीकारेपछि राई मंगलबार हुने २१ औँ जिल्ला परिषद् उद्घाटनका लागि गृह जिल्ला पुगेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us