शिवरात्रीमा पाँच हजार योगी आउने

काठमाण्डु टुडे २०७० फागुन १२ गते १३:०४ मा प्रकाशित

shivaratri-festival3काठमाण्डु, १२ फागुन – यस वर्षको शिवरात्रीका अवसरमा पशुपतिनाथमा मन्दिर र परिसरमा सरसफाइ र रङरोगन, वाग्मतीको सरसफाइ, साधुसन्त तथा योगीहरुको प्रदर्शन र वैष्णोदेवीको प्रतिकृतिको दर्शन मुख्य आकर्षण हुने भएको छ ।

प्राचीनकालदेखि नै भारतबाट योगी तथा सन्तमहन्त पशुपतिनाथमा आउने परम्परानुसार यस वर्ष करिब पाँच हजार योगीको आगमन हुने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ । शिवरात्री व्यवस्थापनअन्तर्गत सन्तमहन्तलाई आवास, भोजन, दाउरा, पाल र दक्षिणा गरी  करिब एक करोड ४४ लाख खर्च हुने कोषका सदस्यसचिव डा गोविन्द टण्डनले बताए ।

पशुपतिनाथमा योगीहरु आउने चलन प्राचीनकालदेखि चलेकामा सात सालपूर्व चाहिँ शिवरात्रीमा मात्र उनीहरु नेपाल आउन पाउने नियम बसेको रहेछ । उनीहरुलाई अमलेखगन्जदेखि नै स्वागत गरी राजधानी भित्र्याइन्थ्यो ।

अहिले योगीहरुले स्तर हेरी रु दुई सयदेखि रु  पाँच हजारसम्म बिदाइस्वरुप दक्षिणा पनि पाउने  गर्छन् । यस वर्ष करिब पाँच हजार परमहंस, आचार्य, स्वामी र साधारणस्तरका योगी भारतका विहार, हरियाणा, गुजरात, मुम्बइ, कर्णाटक, आसाम, सिक्किम, दार्जिलिङ आदि स्थानबाट आउने आउने अनुमान छ । अहिले कामरुप कामाक्षाबाट ११० वर्षका मिलनबाबा आइसकेका छन् ।

शिवरात्रीका अवसरमा योगीहरुलाई अस्थायी र घुम्ती शौचालय तथा धाराको व्यवस्था भइसकेको र तीन दिन विद्युतीय भारकटौती नहुने सदस्यसचिव टण्डनले बताए । शिवरात्रीमा पशुपतिनाथको शीघ्रदर्शनका लागि रु एक हजारको शुल्क पनि  तोकिएको छ ।

बाह्र ज्योतिर्लिङ्गमध्ये पशुपतिनाथ पनि एक हुन् । पशुपतिनाथ ज्योतिर्लिङ्गमध्येकै केदारनाथको शिरोभाग पनि मानिन्छ । नेपालका राष्ट्रिय र आराध्य देवताका रुपमा पनि उनी पुजिन्छन् ।

बुद्धि र विवेकको अभाव तथा मोह र मायाको अन्धकारमा रही बन्धन वा पाशमा रहेकाहरुलाई पशुपतिको आराधाना र उपासनाबाट मुक्ति मिल्ने विश्वास छ । लिच्छविकालमा सुपुष्पले पशुपतिनाथको मन्दिर बनाए पनि हालको  मन्दिर भने सत्रौँ शताब्दीमा राजा भूपालेन्द्र मल्ल र उनकी आमा गङ्गारानीले बनाएका हुन् ।

वनकालीमा वैष्णवीदेवीको मन्दिरको प्रतिकृति
पशुपतिको वनकालीमा अस्थायी रुपमा वैष्णवीदेवीको मन्दिर निर्माण गरिएको छ । यही फागुन ११ गते उक्त मन्दिर सर्वसाधारणको दर्शन तथा पूजाका लागि खुला गरिनेछ । स्थानीय नवजीवन युवा क्लवको सहयोगमा सो कार्य चैत मसान्तसम्म हुनेछ ।

भारत जम्मु कास्मिरको कट्रा भन्ने स्थानमा रहेको वैष्णवीदेवीको मन्दिरको प्रतिकृति तयार गरी नेपालमा धार्मिक पर्यटनको विकास गर्ने सोच राखिएको मन्दिर व्यवस्थापन समितिका संयोजक पवनकुमार कनौजियाले बताए ।

करिब ६५ लाखको लागतमा सो मन्दिर निर्माण गरिएको हो । मन्दिरमा महासरस्वती, महालक्ष्मी, भगवती, राम, लक्ष्मण, सीता, हनुमानलगायत मूर्ति राखिएका छन् ।

यही फागुन १४ गते मन्दिरको उद्घाटन गरिने बताइएको छ । सांसद देवराज भार(बाँके)ले धार्मिक पर्यटन प्रवद्र्धन गर्न र तीर्थाटनका लागि गरिने खर्च बिदेसिनबाट रोक्न वैष्णोदेवीको मन्दिर निर्माणबाट मद्दत मिल्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us