‘लैङ्गिक अनुगमन प्रतिवेदन’ सार्वजनिक

काठमाण्डु टुडे २०७० फागुन १२ गते १२:५६ मा प्रकाशित

काठमाण्डु, १२ फागुन – संविधानसभा निर्वाचनमा गरिएको लैङ्गिक अनुगमन प्रतिवेदन सार्वजनिक भएको छ । मानव अधिकारका लागि महिला, एकल महिलाद्वारा राजधानीमा आयोजित कार्यक्रममा प्रतिवेदन सार्वजनिक गरिएको हो ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष शेषचाँद ताराले नेपालको इतिहासमा पहिलो पटक निर्वाचनमा लैङ्गिक अनुगमन गरिएको र सो अत्यन्तै महत्वपूर्ण भएको बताईन् । उनले संविधानसभा निर्वाचनमा गरिएको लैङ्गिक अनुगमनको अभ्यासबाट स्थानीय निर्वाचनमा समेत अनुगमन गर्न सहज हुने विचार व्यक्त गरिन् ।

निर्वाचन अगाडि, निर्वाचनको समयमा र निर्वाचनपछि गरी निर्वाचनमा तीन तरिकाले लैङ्गिक अनुगमन गरिएको मानवअधिकारका लागि महिला, एकल महिलाकी अध्यक्ष चन्द्रिका भट्टराईले जानकारी दिईन् ।

सो अनुगमन प्रतिवेदनमा जेष्ठ नागरिक, सुत्केरी र गर्भवती महिला, अपाङ्गता भएका महिलालाई निर्वाचनमा सहज नभएको र मतदान केन्द्रमा लैङ्गिक सम्वेदनशील शब्दको प्रयोग समेत नगरिएको पाइएको उल्लेख छ ।

मतदाता शिक्षाको कमीका कारण कतिपय महिलाहरूको मतदाता नामावलीमा नाम नै नभएको, मतदाता परिचयपत्र नभई अन्य परिचयपत्र लिएर मतदान गर्न आएको र अशान्ति हुन्छ भनेर घरबाट नै मतदान नै गर्न जान नदिएको सो प्रतिवेदनमा समावेश गरिएको छ ।

संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिला १० मात्र निर्वाचित भएका छन् भने समानुपातिकमा हालसम्म १६२ जना सभासद् निर्वाचित भएका छन् । सरकारले मनोनीत गर्ने २६ जनामध्ये कति जना महिला पर्दछन् त्यो भने आउन बाँकी छ ।

संविधानसभा निर्वाचनमा लैङ्गिक अनुगमनका लागि राष्ट्रिय महिला आयोगको अगुवाइमा विभिन्न ३१ वटा विभिन्न सङ्घसंस्थाले ६५० जना अनुगमनकर्ता परिचालन भएको अध्यक्ष भट्टराईले जानकारी दिईन् । सो अनुगमनमा ७५ जिल्लाको २४० निर्वाचन क्षेत्रमध्ये १० हजार १२ वटा निर्वाचन केन्द्रमा लैङ्गिक अनुगमन गरिएको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us