नेम्वाङ र भारतीय राजदूतबीच भेटवार्ता

काठमाण्डु टुडे २०७० फागुन १२ गते १२:४३ मा प्रकाशित

subash nembangकाठमाण्डु, १२ फागुन – संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग नेपालका लागि भारतीय राजदूत रञ्जित रेले भेटवार्ता गरेका छन् ।

नेम्वाङको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा राजदूत रेले संविधानसभाको अध्यक्षमा निर्विरोध निर्वाचित भएकोमा बधाई ज्ञापन गर्दै संविधान जारी गर्न सफल हुने विश्वास व्यक्त गरे । त्यसका लागि भारतको सहयोग र समर्थन रहने उनको प्रतिवद्धता थियो ।

दुवै देशका संसद्मार्फत दुवै देशबीचको सम्बन्ध विस्तारमा योगदान पुग्ने भएकाले भ्रमणको आदानप्रदान हुनुपर्ने विचार राजदूत रेले राख्नुभएको अध्यक्ष नेम्वाङले दिए ।

सो अवसरमा अध्यक्ष नेम्वाङले संविधानसभाको अध्यक्षको हैसियतले सबै राजनीतिक दललाई विश्वासमा लिएर एक वर्षभित्रै संविधान जारी गर्ने कार्यमा आफू प्रतिबद्ध रहेको बताएका थिए ।

यस्ता भेटघाट र भ्रमणको आदानप्रदानबाट दुई देशबीचको सम्बन्ध र सहयोग विस्तारमा सहयोग पुग्ने नेम्वाङको विश्वास छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us