भन्सार मूल्याङ्कन मापदण्ड भएन

काठमाण्डु टुडे २०७० फागुन १२ गते १२:३५ मा प्रकाशित

विराटनगर, १२ फागुन – विराटनगर भन्सार कार्यालय रानीले आयातित वस्तुको भन्सार मूल्याङ्कन व्यावहारिक र मापदण्डअनुसार नगरेका कारण उद्योगी व्यवसायी तथा भन्सार एजेन्ट समस्यामा परेका छन् ।

भारतलगायत तेस्रो मुलुकबाट कृषिजन्य वस्तु, खाद्यान्न, लत्ताकपडा, जुत्ता चप्पल, विद्युतीय सामग्री, मोटर पार्टस, खाद्य वस्तु, स्टेसनरीलगायतका वस्तु आयात गर्दा भन्सार मापदण्डअनुसार मूल्याङ्कन नगरी जथाभावी भएको बताइएको छ ।

कम मूल्यका वस्तुको अत्यधिक मूल्याङ्कन गरी भन्सार राजस्व एकातिर बढाउने र अर्कोतिर भन्सारका केही अधिकृत र कर्मचारीले आर्थिक लाभ लिने गरेको र नदिए विभिन्न व्यवधान खडा गर्ने गरेको एजेन्ट र व्यवसायीको गुनासो छ ।

भन्सार मूल्याङ्कन सही, व्यावहारिक र मापदण्डअनुसार गर्न पटकपटक आग्रह गरे पनि भन्सार अधिकृत झन उल्टो व्यवहार गर्ने गरेको व्यवसायी रामप्रसाद अग्रवालले बताए ।

त्यस्तै भन्सार एजेन्ट संघका एक पदाधिकारीले हामी केही बोल्न हुँदैन बोलेमा झन् दुःख झेल्नुपरेको भन्सारप्रति गुनासो गरेको छ । उता भन्सार यात्रु शाखामा पनि राजस्व लिन बसेका कर्मचारीले राजस्व काट्नु अगाडि रकम माग्ने गरेको साधारण व्यवसायी रामदेवी चौधरीले बताईन् ।

भन्सारमा अनुगमन गर्ने निकायको कमी भएकाले भन्सारमा विभिन्न समस्या रहेको त्यहाँका उद्योगी तथा व्यापारीको भनाइ छ । उता भन्सार मूल्याङ्कन व्यावहारिक नभएका कारण कतिपय व्यवसायीले सामानसमेत भन्सार कार्यालयबाट छुटाउन र ल्याउन नचाहेको बताइएको छ ।

यस सम्बन्धमा भन्सार अधिकृतका अनुसार भन्सार किताबको मापदण्डअनुसार भन्सार मूल्याङ्कन गर्ने गरेकाले आरोप लगाउनु गलत भएको दाबी गरिएको छ ।

त्यस्तै भन्सार नाकाबाट आयातित कृषिजन्य वस्तुको क्वारेन्टाइन जाँचमा भन्सार कर्मचारीले सहयोग नगरेको प्लान्ट क्वारेन्टाइन चेकपोस्ट रानीका कर्मचारीको गुनासो छ । सो कार्यालयले दैनिक तीनदेखि चार करोड राजस्व सङ्कलन गर्ने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us