अगुल्टोको प्रहारबाट श्रमिकको मृत्यु

काठमाण्डु टुडे २०७० फागुन १२ गते १०:२६ मा प्रकाशित

बागलुङ, १२ फागुन – जिल्लाको हुग्दीशिर गाविसमा अगुल्टाको प्रहारबाट एक मजदुरको ज्यान गएको छ । हुग्दीशिर–४ स्थित शान्ति थापाको घरमा डेरा गरी बस्ने पाल्पा जिल्ला झुठापौवा गाविस–९ घर भएका २४ वर्षीय सुपन पुनको मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार घरधनी थापाले हानेको अगुल्टोबाट पुनको मृत्यु भएको हो । हत्याको घटना गत फागुन ९ गते नै भएको र सोमबार मात्रै शव परीक्षणका लागि सदरमुकाम ल्याइएको छ ।

आफ्नो घर जान मृतक पुनले राखेको प्रस्ताव घरधनी थापाले अस्वीकार गरेलगत्तै भौतिक आक्रमणमा उत्रेका पुनको प्रतिकारका क्रममा थापाले हानेको अगुल्टो लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक शैलेन्द्र खड्काले जानकारी दिए ।

मृतक पुनको शव परीक्षणका लागि धौलागिरि अञ्चल अस्पतालमा राखिएको छ भने थापालाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखेको छ । घटनामा संलग्न थापाले प्रहरीलाई दिएको प्रारम्भिक बयानअनुसार प्रतिकार गर्दा पुनको ज्यान गएको हो ।

थापाका दुवै आँखामा निलडाम रहेको प्रहरीले जनाएको छ । हिरासतमा रहेकी थापालाई सोमबार कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी अदालत पेस गर्ने जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us