एलिगेन्स पावरलाई सौर्य ऊर्जा सर्वेक्षणको अनुमति

काठमाण्डु टुडे २०७० फागुन १२ गते १०:१९ मा प्रकाशित

Solarकाठमाण्डु, १२ फागुन – सरकारले मुलुकमा बढ्दो ऊर्जा सङ्कटलाई ध्यान दिँदै पछिल्लो पटक सौर्य ऊर्जा उत्पादन गर्न चाहने प्रवद्र्धकलाई सर्वेक्षणको अनुमति प्रदान गर्ने कामलाई तीव्र पारेको छ ।

विद्युत् विकास विभागले पछिल्लो पटक पाँच मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादनका लागि एलिगेन्स पावर इन्ड्रस्टिज प्रालिलाई सर्वेक्षणको अनुमति प्रदान गरेको छ ।

काठमाण्डुको फर्पिङमा सौर्य विद्युत् उत्पादन केन्द्र रहने गरी सर्वेक्षणको अनुमति दिइएको विभागका सूचना अधिकृत गोकर्णराज पन्थले जानकारी दिए ।

विभागले एलिगेन्स पावरलाई एक वर्षभित्र सम्भाव्यता र वातावरणीय प्रभाव मूल्याङ्कनको काम सक्ने गरी सो अनुमति प्रदान गरेको हो । सो आयोजनाको कुल लागत रु एक अर्ब १३ करोड रहने छ । इलिजेन्ट पावरलाई यसै महिनाको सुरुमा सर्वेक्षणको अनुमति प्रदान गरिएको हो ।

यसअघि काठमाण्डुको उपत्यका खानेपानी लिमिटेडले काठमाण्डुको सुन्दरी घाटमा ०.६८० किलोवाट सौर्य ऊर्जा उत्पादन गरिसकेको छ भने मानुङडाँडा सोलार पावर स्टेसनलाई ५० मेगावाट, सोलार इनर्जी प्रोजेक्टलाई ४९ मेगावाट सौर्य ऊर्जा उत्पादनका लागि सर्वेक्षण गर्ने अनुमति विभागले प्रदान गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us