लागुऔषधको मुद्दामा वृद्धि

काठमाण्डु टुडे २०७० फागुन १२ गते १०:१४ मा प्रकाशित

चितवन, १२ फागुन – पछिल्लो समय चितवनको बाटोबाट लागुऔषध ओसारपसार बढेको देखिएपछि प्रहरीले सक्रियता बढाएको छ । गत वर्षको तुलनामा यो वर्ष सङ्ख्यात्मक हिसाबमा मुद्दा दर्ता र पक्राउ सङ्ख्या झन्डै दोब्बर पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार जिल्लामा चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ३१ वटा लागुऔषधका मुद्दा दर्ता भएका छन् र ५० जना व्यक्ति पक्राउ परेका छन् ।

आर्थिक वर्ष २०६७/६८ मा चितवनमा लागुऔषधका ११ वटा मुद्दा मात्रै दर्ता भएका थिए भने २७ जना पक्राउ परेका थिए । त्यस्तै, आर्थिक वर्ष २०६८/६९ मा यो सङ्ख्या दोब्बरले बढेको थियो ।

सो अवधिमा २४ वटा मुद्दा दर्ता भएका थिए भने ४७ जना पक्राउ परेका थिए । त्यस्तै, आर्थिक वर्ष २०६९/७० मा ३८ वटा मुद्दा दर्ता भएको थियो भने ६४ जना पक्राउ परेका थिए ।

प्रहरीको सक्रियता बढेका कारण चालु आर्थिक वर्षमा लागुऔषधको प्रयोगकर्ता तथा कारोबारी बढी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रद्युन्न कार्कीले बताए । पक्राउ सङ्ख्या बढेसँगै मुद्दा दर्तामा समेत वृिद्ध भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us