एमाले वामदेवकै नेतृत्वमा सकारमा जाने

काठमाण्डु टुडे २०७० फागुन १२ गते १२:४४ मा प्रकाशित

balkhuकाठमाण्डु, १२ फागुन – एमाले पार्टी उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा नै सरकारमा सहभागी हुने भएको छ ।

सत्ता साझेदार नेपाली काँग्रेस उपप्रधान तथा गृहमन्त्रालय दिन सहमत भएपछि एमालेले गौतमकै नेतृत्वमा सकारमा जाने निर्णय गरेको हो ।

राजधानीको धापासीस्थित ग्राण्डी अस्पतालमा बसेको एमाले स्थायी समिति बैठकले गौतमकै नेतृत्वमा सरकारमा जाने औपचारिक निर्णय गरेको उपाध्यक्ष विद्या भण्डारीले जानकारी दिइन् ।

‘सरकारमा उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा सहभागी हुने पहिलेकै निर्णयलाई बैठकले सदर गरेको छ, भण्डारीले बैठक पछि भनिन्, ‘अन्य मन्त्रीहरुको नाम भोलीसम्ममा टुंगो लगाउने निर्णय भएको छ ।’

साथै एमालेले मन्त्रीहरुको नामावली टुंगो लगाउने जिम्मा पनि गौतमलाई दिएको छ । मन्त्री चयनका लागि मापदण्ड बनाएर गौतमलाई जिम्मा दिइएको हो ।

आफूलाई परेको मन्त्रालय राम्रोसँग हाँक्न सक्ने क्षमता भएकोलाई पहिलो प्राथमिकता दिनु पर्ने, पाँचै विकास क्षेत्रको भौगोलिक संन्तुलन मिलाउने र महिला, जनजाति लगायतलाई समावेशी बनाउने लगायतका मापदण्ड तय भएका छन् ।

पार्टी संसदीय दलका नेता केपीशर्मा ओली अस्वस्थताका कारण ग्राण्डी अस्पतालमा उपचाररत रहेकाले स्थायी समिति बैठक सोही स्थानमा बसेको हो । सो अवसरमा नेताहरुले ओलीको स्वास्थ्य अवस्था बारे जानकारी समेत लिएका थिए ।

स्थायी समिति बैठक अस्पतालमा बोलाइएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल भने उपस्थित भएनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us