सदनमा एमाओवादीले भन्यो, ‘अमुक मन्त्रालयसँग राष्ट्रपति साट्न मिल्दैन’

काठमाण्डु टुडे २०७० फागुन १२ गते ७:५० मा प्रकाशित

maoist flagकाठमाण्डु, १२ फागुन – एकीकृत नेकपा माओवादीले राष्ट्रपति निर्वाचनको प्रक्रिया तत्काल अघि बढाउन माग गरको छ ।

व्यवस्थापिका संसद बैठकको शुन्य समयमा बोल्दै एमाओवादी सभासद शक्ति बस्नेतले नयाँ राष्ट्रपति चयनका लागि प्रक्रिया अघि बढाउन माग गरे ।

एमालेले गृहमन्त्रालय पाएपछि राष्ट्रपति परिवर्तनको एजेण्डा छाडेकोतर्फ इङ्गित गर्दै बस्नेतले भने, ‘कुनै पार्टीले अमुक मन्त्रालयसँग राष्ट्रपतिको पद साट्न मिल्दैन ।’ साथै उनले अघिल्लो संविधानसभाले जुटाएका सहमतिको स्वामित्व लिएर अघि बढ्नु पर्ने माग गरे ।

सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको प्रक्रिया तत्काल अघि बढाउन बस्नेतले माग गरेका छन् । बैठकमा बोल्दै काँग्रेस सभासद आरजु देउवाले संविधानसभामा ३३ प्रतिशत महिला सहभागिता नभएको भन्दै गुनासो गरिन् ।

‘संविधानसभामा महिलाको प्रतिनिधित्व न्यून भएको छ, देउवाले भनिन्, ‘मन्त्रिपरिषद्ले मनोनयन गर्ने २६ सिटमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्दै ३३ प्रतिशत पुर्याउनु पहल गर्नुपर्छ ।’

यस्तै एमाले सभासद राजेन्द्रप्रसाद पाण्डेले मेडिकल कलेजको सम्बन्धन दिने प्रक्रिया झन्झटिलो भएको गुनासो गरे । ‘एक पक्षले सम्बन्धन दिन्छ, पाण्डेले भने, ‘अर्को पक्षले अनसन अथवा अन्य केही बहानामा त्यसलाई रोक्ने काम गरिरहेको छ ।’

बैठकमा सभासद जेबी टुहुरेले गीत गाएका छन् । एक–एक मिले हजार बन्छ बोलको गितमार्फत उनले मिलेर संविधान निर्माणमा जुट्न नेताहरुलाई आग्रह गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us