कांग्रेस एमालेलाई दश-दश मन्त्रालय

काठमाण्डु टुडे २०७० फागुन १२ गते ३:४३ मा प्रकाशित

Sushil-Koiralaकाठमाण्डु, १२ फागुन – नेपाली काँग्रेस र नेकपा एमालेबीच हाललाई दश-दशवटा मन्त्रालय बाँडफाँड गर्ने सहमतिमा मन्त्रालयको भागबण्डा लगभग मिलेको छ ।

उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय एमालेलाई दिन प्रधानमन्त्री सुशील कोइराला तयार भएपछि दुई दलबीच आइतबार वार्ता प्रारम्भ भएको थियो ।

सोमबार बिहानसम्मको अनौपचारिक वार्ता र सहमतिका आधारमा हाललाई दुवै दललाई दश-दश वटा मन्त्रालय वितरण गरिने भएको एमालेका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार काँग्रेसलाई रक्षा, अर्थ, सूचना तथा सञ्चार, सहरी विकास, शिक्षा, स्थानीय विकास, आवास तथा भौतिक, शान्ति तथा पुनःनिर्माण र कानुन तथा न्याय र एमालेलाई गृह, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य तथा जनसङ्ख्या, संस्कृति÷पर्यटन, वन तथा भूसंरक्षण, युवा तथा खेलकुद, कृषि तथा सहकारी, भूमिसुधार र ऊर्जा मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ ।

कुल २६ वटा मन्त्रालयमध्ये बाँकी पाँच वटा मन्त्रालय हाललाई प्रधानमन्त्रीले राख्ने र सहमतिका आधारमा अन्य साना दललाई दिइने भएको छ । नेकपा (माले) र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारमा जाने भएका छन् ।

मन्त्रालयको वितरणबारे दुवै दलको वार्ता टोलीले तयार गरेको सो खाकामा शीर्ष नेताबीच अन्तिम छलफल भई सम्भवतः आज साँझसम्ममा मन्त्रिमण्डल विस्तार गरिने छ ।  दुवै दलका पदाधिकारी तथा स्थायी कमिटीको अनौपचारिक बैठक अहिले अलग–अलग बसिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us