कतार नेपालमा लगानी गर्न इच्छुक: प्रचण्ड

काठमाण्डु टुडे २०७० फागुन ११ गते १५:०८ मा प्रकाशित

काठमाण्डु, ११ फागुन– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कतार नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका छन् ।
कतार भ्रमणबाट फर्कने क्रममा आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

1924490_1396283987303359_439073023_nआफूले भेटमा नेपालको जलस्रोत, पूर्वाधार निर्माण, कृषि र पर्यटनमा लगानी गर्न कतारी अधिकारीहरुलाई आग्रह गरेको र उनीहरुले त्यसलाई सकारात्मक रुपमा लिएको उनले बताए । कतारले नेपालमा लगानीको सम्भाव्यता अध्ययन गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त समिति बनाउन प्रस्ताव गरेको जानकारी उनले दिए ।

‘मैले जसरी कतार निर्माणमा नेपालीहरुको भूमिका छ, त्यसै गरी नेपाल निर्माणमा कतारको भूमिका हुनुपर्‍यो भन्ने आग्रह गरें’, प्रचण्डले भने, ‘त्यसलाई उनीहरुले सकारात्मक रुपमा लिएका छन् ।’

प्रचण्डले कतारमा रहेका नेपाली श्रमिकहरुको सेवा सुविधा वृद्धि र सुरक्षाबारे पनि अधिकारीहरुको ध्यानाकर्षण गराएको जानकारी दिए । जवाफमा कतारी अधिकारीहरुले अन्य देशका श्रमिक र नेपालीलाई समान व्यवहार गरेको बताएको जानकारी प्रचण्डले दिए ।

पार्टी सम्बद्ध जनप्रगतिशील मञ्च कतारको तेश्रो सम्मेलन उदघाटनका लागि बुधबार दोहा पुगेका उनले कतार बसाइका क्रममा त्यहाँका प्रधानमन्त्री अब्दुल्लाह बिन नासिर बिन अल थानी, श्रम मामिलासम्बन्धी मन्त्री अब्दुल्लाह सलेअ अल खुलैफी र परराष्ट्रमन्त्री हमद विन जसिम विन जवर विन मोहम्मद अल थानीलगायतसँग भेट गरेका थिए ।
अर्को एक फरक प्रसंगमा प्रचण्डले काँग्रेस र एमाले मिलेर सरकार बनाउउनुपर्ने बताए । आफूहरुको प्राथमिकता सरकार नभई संधिवान भएकाले एक वर्षभित्र संविधान जारी गर्न प्रतिपक्षमा बसेर रचनात्मक भूमिका खेल्ने उनले दोहोर्‍याए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us