अन्ततः एमाले सरकारमा जाने

काठमाण्डु टुडे २०७० फागुन ११ गते १०:४८ मा प्रकाशित

CPN-UML
काठमाण्डु, ११ फागुन–लामो विवादपछि अन्तत: नेकपा एमाले काँग्रेस नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने भएको छ ।
आइतबार बसेको एमालेको केन्द्रीय कमिटी बैठकले यसअघि स्थायी कमिटिले गरेको निर्णय उल्ट्याउँदै सरकारमा जाने निर्णय गरेको हो ।

कांग्रेस गृह मन्त्रालय आफूहरुलाई दिन सकारात्मक देखिएकाले सरकारमा जाने निर्णय भएको एमाले सचिव विष्णु पौडेलले बताए ।

उनका अनुसार केन्द्रीय कमिटिले सरकार गठनअघि कांग्रेससँग भएको सातबुँदे सहमति अनुमोदन गर्दै उपाध्यक्ष बामदेव गौतमकै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो ।

काँग्रेसले पूर्वसहमतिअनुसार गृह मन्त्रालय दिन नमानेको भन्दै स्थायी कमिटिले यसअघि सरकारमा नजाने निर्णय गरेको थियो ।

बैठकले मन्त्रालय बाँडफाँट, सरकारको नीति तथा कार्यक्र, सरकार सञ्चालन कार्यविधिलगायत विषयमा कांग्रेससँग सहमति गर्न वार्ता टोलीलाई जिम्मा दिएको छ । वार्ता टोलीमा उपाध्यक्ष गौतम र सचिव पौडेल छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us