रमेश खरेल आएपछि धमाधम भूमिगत हुँदैछन् गुण्डा नाइके

काठमाण्डु टुडे २०७० फागुन ११ गते ६:५९ मा प्रकाशित

काठमाण्डु, ११ फागुन–  काठमाण्डु प्रहरीले ‘गुण्डागर्दी नियन्त्रण अभियान’ चलाएपछि काठमाण्डु उपत्यकामा संगठित गुण्डागर्दी गर्दै आएका गुण्डा नाइकेहरु ramesh Kharelधमाधम भूमिगत हुन थालेका छन् ।
एसएसपी रमेश खरेल काठमाण्डु प्रहरी प्रमुखमा आएपछि गुण्डागर्दी नियन्त्रण अभियान सुरु गरेका हुन् । अभियानका क्रममा हालसम्म ४८ गुण्डा नाइके पक्राउ परिसकेको महानगरीय प्रहरी परिसर हनुमानढोकाले जनाएको छ ।

पक्राउ पर्नेमा चक्रे मिलनका भाई तेजेन्द्र गुरुङदेखि शुक्रबहादुर लामा ‘बाघे’ सम्म छन् । राजधानीमा शनिबार भएको एक कार्यक्रममा एसएसपी खरेलसँगै तस्बिर खिचाएका बाघेलाई केही समयपछि नै प्रहरीले पक्रेको थियो ।

गुण्डा नियन्त्रण अभियानका कारण भूमिगत हुनेमा चर्चित गुण्डा नाइकेहरु दीपक मनाङ्गे, गणेश लामा, रमेश बाहुन, दिनेश अधिकारी ‘चरी’, कुमार घैंटे, माइला लामालगायत छन् । उनीहरुका केही महत्वपूर्ण सहयोगी भने प्रहरी हिरासतमा छन् ।

पक्रनबाट जोगिएका केही सहयोगीलाई भने गुण्डा नाइकेहरुले सुरक्षाका  लागि पोखरा, चितवन र धरानसहित गाउँगाउँ पठाएको सूचना प्रहरीले पाएको छ । गुण्डा नाइकेहरु भने काठमाण्डुमा आफन्त वा साथीहरुकोमा बसेका छन् ।

उनीहरुले यसअघि बस्दै आएका घर र डेरा छाडेका छन् । गुण्डा नाइकेहरु धमाधम भूमिगत भएपछि उपत्यकाका व्यापारी हप्ता बुझाउनुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।

खरेलललाई हटाउने योजनामा गुण्डा नाइके
स्रोतका अनुसार गुण्डा नाइकेहरु रमेश खरेललाई ‘पर्ख र हेर’ को नीतिमा छन् । उनीहरुले खरेललाई काठमाण्डु प्रहरी प्रमुखबाट हटाउन राजनीतिक लविङ तीव्र पारेका छन् । उनीहरु खरेललाई जसरी पनि काठमाण्डु प्रहरी प्रमुखबाट हटाउने उद्देश्यका साथ राजनीतिक लविङमा व्यस्त रहेको दाबी स्रोतको छ ।

त्यसका लागि उनीहरुले आफूलाई संरक्षण गर्दै आएका पार्टीका नेतालाई दबाब दिइरहेका छन् । उच्च प्रहरी स्रोतका अनुसार चरी र रमेश बाहुनले एमालेलाई र मनाङ्गे, लामाद्वय र घैंटेले काँग्रेस नेताहरुमार्फत सरकारलाई दबाब दिइरहेका छन् ।

प्रधानमन्त्री सुशील कोइरालासम्म समेत उनीहरुका सहयोगी छाड्न र खरेललाई सरुवा गर्न कुरा पुगिसकेको छ । सरकारले पूर्णता पाएलगत्तै खरेलको सरुवा हुने सम्भावना रहेको स्रोतहरुको दाबी छ ।

खरेलको प्रहरीभित्रै विरोध
नेपाल प्रहरीका अधिकारीमध्ये जनतामाझ चर्चाको शिखरमा रहेका एसएसपी खरेल प्रहरी संगठनभित्र भने कमजोर छन् । उपल्ला प्रहरी अधिकारीदेखि तल्लो तहकासम्मले खरेलले सस्तो प्रचारबाजीका लागि काम गर्ने गरेको आरोप लगाउँदै आएका छन् ।

प्रहरीको काम जनताको सेवा र सुरक्षा गर्नुभए पनि प्रचारमुखी भने हुन नहुने तर्क उनीहरुको छ । पछिल्लो समय खरेलमाथि अनावश्यक चर्चा बटुल्न गुण्डागर्दी नियन्त्रण अभियान चलाएको र ठूला डनलाई जोगाउन उनीहरुका सहयोगीलाई पक्राउ गरेको आरोप लाग्न थालेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us