गृह मन्त्रालय एमालेलाई दिन काँग्रेस तयार

काठमाण्डु टुडे २०७० फागुन ११ गते ४:१६ मा प्रकाशित

काठमाण्डु, ११ फागुन– लामो विवाद र रस्साकस्सीपछि अन्तत: एमालेलाई गृह मन्त्रालय दिन काँग्रेस तयार भएको छ ।
दुई दलका शीर्ष नेताबीच गएराति भएको अनौपचारिक छलफलमा गृह एमालेलाई दिन काँग्रेस सहमत भएको हो । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको का‌‌गेंस पदाधिकारी बैठकमा  कोइरालाले एमालेलाई गृहमन्त्रालय दिने निर्णय सुनाएका थिए ।

बैठकमा सहभागी पदाधिकारीले गृह एमालेलाई दिएर सरकार बिस्तार गर्न सुझाएका थिए ।

एमाले नेता सुरेन्द्र पाण्डलेले अनैपचारिक सहमतिलाई आजै बस्ने दुई दलका शीर्ष नेताको बैठकले औपचारिकता दिने जानकारी दिए । ‘गृह मन्त्रालय हामीलाई दिन काँग्रेस तयार भएको छ’, पाण्डेले काठमाण्डु टुडेसँग भने, ‘दुई दलका शीर्ष नेताबीच आज छलफल गरेर सहमतिलाई औपचारिकता दिने काम हुन्छ ।’

गृह विवाद अन्त्य भएसँगै प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् । प्रधानमन्त्री निर्वाचित भएको दुई साता बित्दासमेत मन्त्रिमण्डल विस्तार गर्न नसकेका कोइरालाले गृहमन्त्रालय एमालेलाई दिएर सरकारलाई पूर्णता दिन लागेका हुन् ।

गृह एमालेलाई दिने विषयमा प्रधानमन्त्री कोइरालाले गएराति र बिहान उपसभापति रामचन्द्र पौडेल र महामन्त्री प्रकाशमान सिंहलगायतसँग सरकारी निवास बालुवाटारमा छलफल गरेका थिए ।
यसअघि पूर्वसहमतिअनुसार काँग्रेसले गृह दिन नमानेको भन्दै एमाले सरकारमा नजाने अडानमा थियो । जारी केन्द्रीय समिति बैठकमा केही सदस्यले गृह पाए पनि सरकारमा जान नहुने धारणा राखेका थिए ।

एमालेले उपप्रधान र गृह मन्त्रलय लिएर उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा सरकारमा जाने निर्णय यसअघि नै गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us