कोइराला नेतृत्वको सरकार संकटमा

काठमाण्डु टुडे २०७० फागुन १० गते १६:०३ मा प्रकाशित

Sushil-Koiralaनेकपा एमालेबाट सहयोग पाउन नसकिरेहका प्रधानमन्त्री सुशील कोइराला आफ्नो पार्टीभित्रै समीकरण मिलाउन नसक्दा अप्ठयारोमा परेका छन्।

वरिष्ठ नेता शेरबहादुर देउवाले आफू पक्षीय नेताहरुको नाम पठाउन नमानेपछि मन्त्रीपरिषद् विस्तारमा झन ढिलाई हुने देखिएको छ।प्रधानमन्त्री निकट मानिने एक जना नेताले भने नेताहरुबीच सहमति भई छिट्टै मन्त्रीपरिषद् विस्तार हुने बताएका छन्।

शुक्रबार राती प्रधानमन्त्री कोइराला र उनकै पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाबीच भएको भनिएको सहमति कार्यान्वयन नभएको भन्दै आफ्नो तर्फबाट नेताको नाम पठाउन देउवाले अस्वीकार गरेका छन्।

देउवा निकट मानिने नेता प्रकाशशरण महतकाअनुसार देउवापक्षीय ३ र अर्का ३ जना नेतालाई समेटी मन्त्रिपरिषद विस्तार गर्न प्रधानमन्त्री कोइराला सहमत भएका थिए।तर लगत्तै कोइरालाले त्यसो गर्न नसकिने बताएपछि देउवाले आफू पक्षीय नेता नपठाउने जानकारी गराएको महतले बताए। उनले भने, ‘’सहमतिबाट प्रधानमन्त्री पछि हटेपछि देउवाले तपाई आफ्नो हिसाबले अघि बढ्नुहोस् भन्नुभयो।‘’

प्रधानमन्त्री बन्न कोइरालालाई सघाएको दोस्रो ठूलो दल नेकपा एमाले सहमति कार्यान्वयन नभएको भन्दै बिच्किएका बेला कोइरालाले एकतर्फी रुपमा कांग्रेसका नेता मात्र राखेर मन्त्रिपरिषद विस्तार गर्न खोजेको बताइन्छ।तर देउवाले आफू पक्षीय नेताहरुको नाम नदिएपछि मन्त्रीपरिषद विस्तार अन्यौलग्रस्त भएको देखिएको छ।

यद्यपि प्रधानमन्त्री निकट मानिने नेता आनन्दप्रसाद ढुंगानाले देउवा पक्षीय नेताहरुलाई समेटी छिट्टै मन्त्रीपरिषद् विस्तार हुने जनाए। उनले भने, ‘’उहाँहरु सहमतिमा पुग्नुहुन्छ भन्ने मलाई विश्वास छ र छिट्टै मन्त्रिपरिषदविस्तार हुनेछ।‘’

महतले भने देउवासँग भएको आन्तरिक समझदारीअनुसार प्रधानमन्त्री अगाडि नबढे आफू पक्षीय नेता राखी मन्त्रिपरिषद विस्तार गर्न कोइरालालाई छुट भएको बताए। प्रधानमन्त्री भएको १३ दिन बितिसक्दा पनि मन्त्रिपरिषद विस्तार हुन नसक्दा पूर्णता नै नपाई कोइराला नेतृत्वको सरकार संकटमा पर्न थालेको कतिपयले बताउन थालेका छन्। नेकपा एमालेका केही नेताहरुले सरकार बाहिर बस्ने भन्न थालेपछि समस्या थप पेचिलो देखिएको छ। BBC

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us