
बनेपा, १० फागुन – नेपाली काँग्रेसका नेता मीनेन्द्र रिजालले काँग्रेस र एमालेबीच कार्यसूची मिलेका कारण सरकार गठन गर्न लागे पनि अहिले संशय बढेको बताउनुभएको छ ।
नेपाल जेसिजले शनिबार धुलिखेलमा सुरु गरेको नेतृत्व विकाससम्बन्धी तालिममा बोल्दै रिजालले दुई दलबीच संघीयता, राज्यको पुनःसंरचनालगायत विषयमा कार्यसूची मिल्ने उल्लेख गर्दै वर्तमान सरकारलाई नफेरिने सरकारका रुपमा अघि बढाउन खोजिएको बताए ।
कार्यक्रममा पूर्वसभासद् हरि रोकाले नेपालमा विकासका लागि प्रचुर सम्भावना रहेको बताउँदै त्यसको पहिचान गर्नुपर्नेमा जोड दिए । यस्तै पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालले प्रधानमन्त्रीको सल्लाहकार विज्ञ र सक्षम व्यक्तिहरु हुनुपर्नेमा जोड दिए ।
नेपाल जेसिजका पूर्वअध्यक्ष शम्भुराम सिंखडाले राजनीतिको शक्ति प्रयोग केका लागि भन्ने विषयमा द्विविधा देखिएको बताए । तालिममा देशभरबाट झन्डै ५०० जनाको सहभागिता थियो ।