गाउँगाउँमा क्यान्सरका बिरामीको खोजी

काठमाण्डु टुडे २०७० फागुन १० गते ८:२६ मा प्रकाशित

चितवन, १० फागुन – चितवनको क्यान्सर अस्पताल र नेपाल अर्बुद रोग निवारण संस्था चितवनले गाउँगाउँमा क्यान्सरका बिरामीको पहिचान गर्ने उद्देश्यले खोजी अभियान सुरु गरेको छ ।

क्यान्सर रोगको विषयमा पर्याप्त चेतना नहुँदा निकै न्यून मात्रामा बिरामी अस्पताल आउने गरेको पाइएपछि गाउँमै गएर क्यान्सर रोगको परीक्षण गरी रोगीको पहिचान गर्ने अभियान थालिएको हो ।

अहिले अस्पतालमा बिरामी अन्तिम अवस्थामा मात्रै आउने गरेकाले सुरुकै अवस्थाका बिरामीको पहिचान गरी उपचार गर्ने उद्देश्य यो अभियानले राखेको अर्बुद रोग निवारण संस्था चितवनका अध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिए ।

अभियानअन्तर्गत स्वास्थ्य शिविर नै सञ्चालन गरेर उनीहरुको रोगको परीक्षणसँगै चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । सोही अभियानअन्तर्गत यो वर्ष तय गरिएका १२ वटा कार्यक्रममध्ये दुईवटा परीक्षण शिविर सकिएको छ ।

शक्तिखोर देवीटार र गुञ्जानगरबाट ८५ जनाको परीक्षण गरिएको र उनीहरुमा कस्ता रोग छन् भन्ने विषयमा क्यान्सर अस्पतालमा परीक्षण भइरहेको चुकेले जानकारी दिए । अभियानअन्तर्गतका अन्य कार्यक्रम विभिन्न क्षेत्रमा सञ्चालन गरिनेछ ।

क्यान्सर अस्पताल चितवनका चिकित्सक डा. अनिल कार्कीले गाउँगाउँमा चेतना शिविर आवश्यक भएको बताए । डा. कार्कीका अनुसार मानिसमा चेतना दिन सके बेलैमा उपचार हुने र रोग निको पार्न सकिने छ । पछिल्लो तथ्याङ्कले नेपालमा वार्षिक करिब ३६ हजार नयाँ बिरामी देखिने गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले नेपालमा प्रतिएक लाख मानिसमध्ये १२० जनालाई क्यान्सर लाग्ने देखाएको छ ।

तर अस्पतालको तथ्याङ्क हेर्ने हो भने उपचारका लागि निकै न्यून बिरामी मात्रै आइपुगेका छन् । चितवनको क्यान्सर अस्पतालको तथ्याङ्कमा नेपालमा कुल आठ हजार ८०० नयाँ बिरामीले मात्रै गएको एक वर्षमा उपचार गराएका छन् ।

क्यान्सर रोग नियन्त्रण तथा अनुसन्धान विभाग चितवनका प्रमुख किशोरकुमार प्रधानाङ्गले नेपालका विभिन्न अस्पतालको तथ्याङ्क सार्वजनिक गर्दै न्यून मात्रामा उपचारका लागि अस्पताल आएको बताए । उनका अनुसार सबैभन्दा बढी चितवनको क्यान्सर अस्पतालमा चार हजार ५०० नयाँ बिरामीले उपचार गराएका छन् ।

यस्तै काठमाण्डु, पोखरा र धरानका विभिन्न अस्पतालको तथ्याङ्कमा भने चितवनको जति करिब साढे ४ हजार मात्रै छ । आएका बिरामीमध्ये सबैभन्दा बढी पाठेघरको क्यान्सर, त्यसपछि स्तनको क्यान्सर र पुरुषमा फोक्सोको क्यान्सर लागेकाहरु छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us