सामुदायिक विद्यालयमा जापानी सहयोग

काठमाण्डु टुडे २०७० फागुन १० गते ८:०२ मा प्रकाशित

school-buildingकाठमाण्डु, १० फागुन – जापानी शिक्षा सहयोग संघ (जोइन) ले नेपालका सामुदायिक विद्यालयमा भवन निर्माण र अन्य सहयोग प्रारम्भ गरेको छ ।

एसियाका थाइल्यान्ड, लाओस, भियतनामलगायत मुलुकका १७० वटा विद्यालय भवन निर्माणमा सहयोग गर्दै आएको सो संस्थाले पहिलो चरणमा नेपालमा एसियन फ्रेन्डसिप नेटवर्कको सहकार्यमा काभ्रेको सस्यूखर्कस्थित बालकल्याण निमाविमा छकोठे पक्की भवन निर्माणको सम्झौता गरेको छ ।

जोइनले खोटाङको हलेसीस्थित दुर्छिम माविमा छवटा कम्प्युटर सहयोग गर्दैछ । हाल नेपालमा रहेका जोइनका अध्यक्ष सातो योसिकोले नेपालका बालबालिका पूर्वाधारको अभावमा पढ्नबाट वञ्चित भएको तथा बीचैमा कक्षा छाड्ने समस्यामा रहेकाले आफूहरूले सहयोग गर्न लागेको बताए ।

विद्यालय भवनको निर्माणसँगै खेलकुद सामग्री तथा कम्प्युटर वितरण, साक्षरता अभियान, सुरक्षित मातृत्वका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए ।

जापानीहरूकै सहयोगमा नेटवर्कले नेपालमा ८० भन्दा बढी विद्यालयमा भवन निर्माण गरिसकेको नेटवर्कका दक्षिण एसिया प्रतिनिधि गणेशमान लामाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us