पर्वतारोहण संघमा शेर्पा निर्वाचित

काठमाण्डु टुडे २०७० फागुन १० गते ६:१० मा प्रकाशित

काठमाण्डु, १० फागुन – पर्वतीय पर्यटन व्यवसायीहरुको छाता संगठन नेपाल पर्वतारोहण संघको अध्यक्ष पदमा आङ छिरिङ शेर्पा निर्वाचित भएका छन् ।

राजधानीमा सम्पन्न निर्वाचनमा शेर्पाले ४ सय ७३ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी निमानोर्बु शेर्पाले ३ सय ९१ मत पाए ।

त्यसैगरी १५ सदस्यीय कार्यकारिणी समितिका अन्य पदाधिकारी र सदस्यहरुमा आङ छिरिङ प्यानलकै उम्मेदवार विजयी भएका छन् ।

संघको प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः सन्तवीर लामा, दिवसविक्रम शाह, ठाकुरराज पाण्डे, राजेन्द्रमान श्रेष्ठ र टीकाराम गुरुङ निर्वाचित भएका छन् ।

साथै सङ्घको सदस्यहरुमा डा. हरि श्रेष्ठ, श्रीमती कामिनी एल शेर्पा, धनबहादुर गुरु, सुश्री छुरिम शेर्पा, पासाङ शेर्पा, लाक्पा शेर्पा, दा गेल्जे शेर्पा, पेम्वा दोर्जे शेर्पा र डा निमा नाम्गेल शेर्पा चुनिएका छन् ।

विजयी घोषित भएपछि अध्यक्ष शेर्पाले पर्वतीय पर्यटनको विकासका लागि सबैसँग सहकार्य गरी अगाडि बढ्ने उल्लेख गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पर्वतीय पर्यटनलाई उजागर गर्न कार्ययोजना बनाउने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us