प्रधानमन्त्रीको हातखुट्टा बाँधियो : पौडेल

काठमाण्डु टुडे २०७० फागुन १० गते ५:५२ मा प्रकाशित

Ramchandra-Paudelकाठमाण्डु, १० फागुन– कॉग्रेस उपसभापति रामचन्द्र पौडेलले सरकारले पूर्णता नपाउँदै प्रधानमन्त्री सुशील कोइरालाको हातखुट्टा बाँध्ने काम भएको बताएका छन् ।

पार्टी सम्बद्ध महोत्तरी–काठमाण्डु सम्पर्क समितिले राजधानीमा शनिबार गरेको कार्यक्रममा पौडेलले प्रधानमन्त्रीलाई पार्टीभित्र र बाहिरबाट काम गर्न नदिइएको आरोप लगाए ।

प्रधानमन्त्रीको हातखुट्टा बाँधेर मुलुकले निकास पाउन नसक्ने उनको भनाइ थियो । ‘सरकारले पूर्णता नपाउँदै प्रधानमन्त्रीको हातखुट्टा बाँध्ने काम भएको छ’, पौडेलले भने, ‘यो राम्रो भएन, यसले मुलुक र जनताको हित गर्दैन ।’

एमालेसँग आफ्नो पार्टीले गृह मन्त्रालय दिने कुनै सहमति नगरेको दाबी पनि पौडेलले गरे । उनले सहमति भएको भनिएको विषयमा आफूलाई केही थाहा नभएकाले आफ्नो कारणले सहमति भाँडिएको भन्ने आरोपको खण्डन गरे ।

‘मलाई थाहै नभएको सहमति भाँड्यो भनेर आरोप लगाउँछन्’, पौडेलले भने, ‘थाहै नभएको सहमति भाँड्यो भन्नु दुर्भाग्यपूर्ण कुरा हो ।’ उनले प्रधानमन्त्री कोइरालाले एमालेको समेत समर्थनमा केही दिनभित्रै सरकारलाई पूर्णता दिने दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us