
काठमाण्डु, ९ फागुन । पशुपति क्षेत्र विकास कोषले शिवरात्रीमा लाइनमा नबसीकन छिटो छरितो गर्न चाहने दर्शनार्थीको सुविधाका लागि यसवर्ष पनि सःशुल्क दर्शनको व्यवस्था गरेको छ ।
नेपाल एसविआई बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र एभरेस्ट बैङ्कबाट रु एकहजारको टिकट लिन सकिने व्यवस्था कोषले मिलाएको छ ।
कोषले शुक्रबार काठमाण्डु गरेको पत्रकार सम्मेलनमा कोषका सदस्यसचिव डा गोविन्द टण्डनले सो पर्वलाई भव्यरुपमा सम्पन्न गर्न विभिन्न समिति तथा उपसमिति गठन गरी कार्य थालिएको बताए ।
उनका अनुसार पर्वमा दर्शनार्थीको सुरक्षाको लागि पशुपति आसपास क्षेत्रमा नेपाल प्रहरीको सव–कमाण्ड पोष्ट स्थापना गरी मन्दिर प्राङ्गण प्रवेशद्वारलगायत अन्य आवश्यक स्थानहरुमा वाकथ्रु गेट तथा सिसिटिभी जडान गरी अनुगमन गरिने छ ।