ट्रान्सफर्मर खरिद प्रकरण विशेष अदालतमा

काठमाण्डु टुडे २०७० फागुन ९ गते १२:२२ मा प्रकाशित

bises-adalatकाठमाण्डु, ९ फागुन – ट्रान्सर्फमर खरिदका क्रममा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक सहितका कर्मचारीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

तत्कालिन कार्यकारी निर्देशक डा जीवेन्द्र झा, तत्कालिन महाप्रबन्धकत्रय रामेश्वर यादव, युगल किशोर साह र चिरञ्जीवि शर्मा पौडेललगायत विभिन्न पदमा कार्यरत कर्मचारीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

यस्तै तत्कालिन प्रवन्धक कैलाशप्रसाद अटल, तत्कालिन सह–निर्देशक हरिशबहादुर पाल, सहनिर्देशक डिल्लीरमण दाहाल, तत्कालिन लेखा अधिकृत सुरेशकुमार कटुवाल, तत्कालिन सहायक लेखा अधिकृत सुशीलप्रसाद खनाल, तत्कालिन कायम मुकायम निर्देशक अष्टरत्न शाक्य, केन्द्र प्रमुख त्रिपुरारी प्रसाद सिंह, सहायक प्रबन्धक सुरेन्द्र प्रसाद पनेरु, तत्कालिन केन्द्रीय भण्डार प्रमुख एवं इन्जिनियर नारायणप्रसाद चौधरी, तत्कालिन भण्डार सहायक सरोज श्रेष्ठसमेतविरुद्ध समेत मुद्दा दायर गरिएको छ ।

चीनबाट खरिद भएको विभिन्न क्षमताको ५ सय ७५ थान ट्रान्सफर्मर खरिद प्रकृयादेखि भण्डारणसम्मका चरणहरुमा अनियमितता भएको अख्तियारको दावी छ ।
सो ट्रान्सफर्मरहरु चीनको सिचुआन दोङफाङ ट्रान्सफरमर कम्पनीबाट खरिद गरिएको थियो ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार नेपाल विद्युत प्राधिकरणलाई नोक्सानी पुर्‍याएको पुष्टि भएको भन्दै ७ करोड ९१ लाख २८ हजार ५ सय ३८ रुपैयाँ ४६ पैसा विगो र जरिवाना असुल गर्न मागदाबी गरेको छ ।

यसैगरी खरिद प्रकृयामा संलग्न ठेकेदार सिचुआन दोङ्गफाङ्ग  ट्रान्सफर्मर कम्पनी लिमिटेड चीनका अध्यक्ष ओयु याङ सी, महाप्रवन्धक होङ्यु औयाङ, ठेकेदारका आधिकारिक प्रतिनिधि एवं अभिकर्ता इन्टर कन्टिनेन्टल विजिनेस नेटवर्कका मणीनाथ ढकालबाट पनि १८ करोड २४ लाख ५ हजार ८ सय ६५ रुपैयाँ १६ पैसा जरिवाना असुल्न तथा विगो भराउन माग गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us