राजस्व वृद्धि लक्ष्यअनुरुप भएन

काठमाण्डु टुडे २०७० फागुन ९ गते ११:०८ मा प्रकाशित

काठमाण्डु, ९ फागुन – सरकारले चालु आर्थिक वर्षको सात महिनामा एक खर्ब ८८ अर्ब ९० करोड ७८ लाख राजस्व सङ्कलन गरेको छ । अर्थमन्त्रालयले चालु आर्थिक वर्षमा एक खर्ब ९२ अर्ब ३७ करोड ६४ लाख राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।

आधाभन्दा बढी समय बितिसक्दा पनि लक्ष्यभन्दा निकै कम राजस्व संकलन भएपछि विभिन्न प्रयास थालिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत पुसमा पौने पाँच अर्ब रुपैयाँ राजस्व नपुगेपछि राजस्व बढाउनका लागि सम्बन्धित निकायलाई निर्देशन दिए पनि सोचेभन्दा कम राजस्व सङ्कलन भएको छ ।

मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा सरकारले समीक्षा अवधिमा रु एक अर्ब ५४ अर्ब ५९ करोड आठ लाख राजस्व सङ्कलन गरेको थियो । सङ्कलित राजस्व गत आर्थिक वर्षको तुलनामा २२ प्रतिशतभन्दा बढी हो भने लक्ष्यभन्दा रु तीन अर्ब ४६ करोड ८६ लाखले कम हो ।

विगत केही महिनायता आन्तरिक राजस्व प्राप्ति सन्तोषजनक भए पनि भन्सार राजस्व भने घट्दै गएको मन्त्रालयका सहप्रवक्ता भूमिराज शर्माले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us