एक वर्षमा संविधान बन्ने छाँट छैन : यादव

काठमाण्डु टुडे २०७० फागुन ९ गते ११:०२ मा प्रकाशित

Upendra-Yadavकाठमाण्डु, ९ फागुन – मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेस र नेकपा एमालेबीचको गृह मन्त्रालयको नेतृत्व विवादले एक वर्षभित्र पनि संविधान नबन्ने स्थिति आएको बताएका छन् ।

‘गृह मन्त्रालय आफ्नो पक्षमा पार्न सकियो भने स्थानीय निर्वाचन जित्न सकिन्छ भन्ने मानसिकताले काँग्रेस र एमाले अगाडि बढिरहेका छन्,’ रिपोटर्स क्लवद्वारा शुक्रबार आयोजित साक्षात्कारमा यादवले भने, ‘यसरी दलहरु संविधान निर्माणभन्दा पनि सत्ता लिप्सामा केन्द्रित हुँदा एक वर्षभित्र संविधान नबन्ने स्थिति देखापरेको छ ।’

निर्वाचन सम्पन्न भएको तीन महिना बितिसक्दासमेत संविधान निर्माणतर्फ कुनै दल गम्भीर नबनेको उनको भनाई छ ।

अध्यक्ष यादवले केही मधेसी दलबीच एकताको प्रयास भइरहेको जानकारी दिँदै कसैलाई मन्त्री, सभासद् वा कसैलाई कुनै पदमा लैजान नभई मधेसी जनविद्रोहले प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्न एकता गर्न लागिएको बताए ।

विभेदरहित समाज र संघीयतासहितको संविधान निर्माण गर्न पार्टी एकताको पहल भइरहेको उनको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us