अख्तियारको टोली रुकुममा

काठमाण्डु टुडे २०७० फागुन ९ गते ९:११ मा प्रकाशित

akhtiyar-durupayog-anusandhan-aayogरुकुम, ९ फागुन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम जिल्लामा छानबिन थालेको छ । पहिलो पल्ट रुकुम पुगेको आयोगको मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय सुर्खेतको टोलीले उजुरी परेका केही कार्यालयबाट आवश्यक कागजात झिकाएर अनुसन्धान थालेको हो ।

सरकारी कार्यालय तथा सरकारी आयोजना सञ्चालन गरिरहेका गैरसरकारी कार्यालयमा अनियमितता भएको उजुरी परेपछि पाँच अधिकृतसहित आठ जनाको टोली रुकुम पुगेको हो ।

उजुरीका आधारमा उक्त टोलीले पहिलो चरणमा सम्बन्धित कार्यालयमा पुगेर आवश्यक कागजात तथा कार्यालयबारे जानकारी लिएको छ । उक्त कागजातको अनुसन्धानपछि मात्र थप प्रक्रियाअघि बढ्ने आयोगका अधिकृत डम्बरबहादुर काफ्लेले बताए ।

काफ्लेका अनुसार जिल्ला विकास समिति, जिल्ला शिक्षा कार्यालय, जिल्ला वन कार्यालय, रुकुम उज्यालो कार्यक्रम, रुकुमेली विद्युत ऊर्जा विकास उपभोक्ता समिति, सरकारी कार्यक्रम सञ्चालन गरिरहेका गैरसरकारी सङ्घसंस्था, गाविस र विद्यालयविरुद्ध आयोगमा उजुरी परेको छ ।

अनुगमनमा आएको टोलीका अनुसार गाउँ विकास समितिमा सामाजिक सुरक्षा भत्ता दुरुपयोगसम्बन्धी उजुरी परेको छ । अन्य कार्यालयमार्फत सञ्चालित आयोजनामा अनियमितता भएको उजुरी पनि अख्तियारमा परेका छन् ।

उजुरीका आधारमा सम्बन्धित कार्यालयसँग सोधपूछ तथा अनुसन्धान गरिएको र थप अनुसन्धान पछि मात्र अनियमितता भए÷नभएको खुल्ने टोलीले बताएको छ । अख्तियारको सुर्खेत क्षेत्रीय कार्यालयमा विभिन्न कार्यालय तथा आयोजनामा अनियमितता भएको गुनासोसहित २१ वटा उजुरी परेका छन् ।

प्रारम्भिक चरणमा एक दर्जन कार्यालयको कागजात झिकाइएको अधिकृत डम्बरबहादुर काफ्लेले बताए । जाजरकोट हुँदै आएको यो टोलीले सल्यान जिल्लामा पनि अनुगमन गर्ने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us