माछा उत्पादन बढ्यो, भाउ घट्यो

काठमाण्डु टुडे २०७० फागुन ८ गते ११:३५ मा प्रकाशित

fishचितवन, ८ फागुन – चितवनमा माछाको उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । जिल्लामा व्यावसायिक माछापालन फस्टाएको र अहिले पोखरीहरू सफा गर्ने र सुकाउने क्रम चलिरहेकाले माछाको उत्पादन बढेको नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष जोगेन्द्र महतोले जानकारी दिए ।

उनका अनुसार उत्पादन वृद्धिसँगै माछाको मूल्यमा पनि गिरावट आएको छ । चितवनमा प्रतिकिलो रु २० देखि रु ३० सम्म माछाको मूल्यमा गिरावट आएको उनले बताए ।

जिल्लामा जिउँदो माछा प्रतिकिलो ३५० मा बिक्री हुँदै आएकोमा अहिले घटेर ३२० मा झरेको छ । यस्तै पोखरीबाट मारेर ल्याइएको माछा प्रतिकिलो ३२० मा बिक्री भइरहेकामा अहिले घटेर ३०० मा झरेको अध्यक्ष महतोले बताए ।

अहिले कृषकबाट व्यवसायीले २३० प्रतिकिलोमा जिउँदो माछा किन्दै आएका छन् । उनीहरूले आफ्नो लागत कटाएर जिल्लामा रु ३३० सम्ममा बेच्दै आएका छन् ।
गएको जेठदेखि यहाँ माछाको मूल्यमा कुनै हेरफेर भएको थिएन ।

पछिल्लो समयमा जिल्लामा जिउँदो माछाको बिक्री बढेसँगै उपभोक्ताहरू माछामा आकर्षित भएका थिए । चितवनमा हाल वार्षिक २० हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ । चितवनको बजारमा यो पर्याप्त रहेको भए पनि यहाँको माछा बाहिर जाने गरेकाले भारतीय माछा पनि आउने गरेको व्यवसायीहरू बताउँछन् ।

नेपालमा वार्षिक ५५ हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ । नेपालमा उत्पादित माछाले ४० प्रतिशतमात्रै माग धानेको र अन्य बाँकी ६० प्रतिशत बाहिरी मुलुकबाट आयात हुने गरेको छ । त्यसैले माछाको व्यावसायिक खेतीका लागि सरकारी सहयोग आवश्यक हुने व्यवसायीहरूले बताएका छन् ।

चितवन जिल्लामा ७०० माछा कृषकको एक हजार ५०० भन्दा बढी पोखरी छन् । यस्तै जलाशयको क्षेत्रफल ५०० हेक्टर रहेको तथ्याङ्क छ । यसवर्ष नेपाल सरकारले माछा व्यवसाय विकासका लागि चितवनलगायत विभिन्न जिल्लामा अनुदानसहितको कार्यक्रमसमेत सञ्चालन गरेको जिल्ला कृषि विकास कार्यालयका कार्यालय प्रमुख राजाराम अधिकारीले बताए ।

जिल्लामा यो वर्ष ४० हेक्टरमा माछाखेती विस्तार गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us