विमान आक्रमणको जाँच गर्न आग्रह

काठमाण्डु टुडे २०७० फागुन ८ गते १०:३६ मा प्रकाशित

वासिङ्टन, ८ फागुन – गत डिसेम्बरमा यमनस्थित एक विवाह पार्टीलाई लक्ष्यगरी गरिएको अमेरिकी चालकरहित विमान आक्रमणको अनुसन्धानका लागि ह्युमन राइट्स वाचले अमेरिकी सरकारलाई आग्रह गरेका छन् ।

यमनस्थित एक विवाह पार्टीमा भएको यस आक्रमणका क्रममा कम्तीमा १२ व्यक्तिको मृत्यु भएको थियो । यो विमान आक्रमणले अन्तर्राष्ट्रिय कानुनको उलङ्घन गरेको ह्युमन राइट्स वाच बताएको छ ।

यमनको मध्य सहर रडाआमा  भएको यस विमान आक्रमणमा १२ व्यक्तिको मृत्यु हुनुका साथै दुलहीसहित अन्य १५ जना घाइते भएका थिए । यद्यपि अमेरिकी र यमनी अधिकारीहरुले यस आक्रमणमा मारिएका अरेवियन प्रायद्वीपका अल कायदा आतङ्ककारीहरु रहेको जनाएका थिए ।

तर प्रत्यक्षदर्शी र आफन्तहरुले ह्युमन राइट्स वाचलाई यस आक्रमणमा सर्वसाधारणको हताहति  भएको जानकारी दिएका छन् ।

‘द न्यू अमेरिकी फाउन्डेसन’का अनुसार अमेरिकाद्वारा सन् २००२ देखियता  यमन अलकायदा आतङ्ककारीलाई लक्ष्यगरी जारी राखेको चालकरहित विमान आक्रमणमा करिब ७९३ आतङ्ककारीको मृत्यु भएको छ ।

यस अवधिभरि ९९ वटा चालकरहित विमान आक्रमण भएको र यसमा  करिब ८४ जना सर्वसाधारणको मृत्यु भएको पनि सो फाउन्डेसन् जानकारी दिएको छ  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us