जग्गा धितो राखी ऋण लिनेको सङ्ख्या बढ्यो

काठमाण्डु टुडे २०७० फागुन ८ गते ६:०३ मा प्रकाशित

Samajik-Surakshaपरासी, ८ फागुन – नवलपरासी जिल्लामा चर्को ब्याजमा जग्गा धितो राखी ऋण लिनेको सङ्ख्या बढेको पाइएको छ । वित्तीय संस्थाभन्दा मालपोत कार्यालयमा जग्गा दृष्टिबन्धक गरी ऋण लिनेको सङ्ख्या बढ्दै गएको मालपोत कार्यालयको तथ्याङ्कले देखाएको छ ।

झन्झटिलो र लामो समय लाग्ने भएका कारण स्थानीय बासिन्दा अरू वित्तीय संस्थाभन्दा मालपोत कार्यालयमा जग्गा राखेर ऋण लिनेतर्फ लागेको बताउँछन् । यसरी दृष्टिबन्धक गर्ने साहुहरूले प्रतिसय चारदेखि आठ रुपैयाँसम्म मासिक ब्याज लिने गरेका छन् ।

मालपोत कार्यालयमा सरकारी दस्तुर तिरेपछि दृष्टिबन्धक पास हुन्छ । घर खर्चका लागि सापटी रकम दिएको भन्दै ऋण दिएकोभन्दा दोब्बर र तेब्बर रकमको कागज बनाएर मालपोत कार्यालयबाट साहुहरूले दृष्टिबन्धक पास गराउने गरेका छन् ।

घरघडेरी धितो राखेर ऋण लिएका अधिकांश व्यक्तिले चर्को ब्याज तिर्न नसकेपछि धितो लिलाम हुने गरेको पनि पाइएको छ । क्रण लिने र ब्याजमा ऋण दिने साहुहरू दैनिकरूपमा मालपोत कार्यालय वरिपरि आउने गर्दछन् ।

व्यक्तिको दृष्टिबन्धक रोक्न सरकारले नीति नबनाएसम्म यो समस्या यथावत् रहने मालपोत कार्यालयका कर्मचारीहरू बताउँछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us