
गोरखा, ७ फागुन – विगत १७ वर्षदेखि बन्द रहेको उत्तरी गोरखाको लार्के भन्सार कार्यालय सिर्दिबास गाविसस्थित जगतमा सार्ने तयारी भएको छ ।
लार्के भन्सार कार्यालय द्वन्द्वको समयमा २०५४ सालमा बन्द भएको थियो । भौगोलिक विकटताका कारण सेवा प्रभाकारी नभएकाले सार्न लागिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कार्कीले बताए ।
स्थानीयवासी र राजनैतिक दलको मागलाई समेत सम्बोधन गर्दै जगतमा कार्यालय राख्न लागेका हौँ, कार्कीले भने । भन्सार कार्यालय जगतमा सार्ने प्रक्रिया मिलाउनका लागि भन्सार विभाग काठमाडौँमा सिफारिस पत्र पठाइसकिएको छ ।
द्वन्द्वको समयमा बन्द कार्यालय द्वन्द्व सकिएको एक दशकसम्म पुनःस्थापना हुन सकेको थिएन । यो बाटो भएर तिब्बततर्फ निकासी हुने वस्तुको करसमेत उठ्न सकेको थिएन ।
सिर्दीबासको जगतमा कार्यालय राखेपछि सामागाउँ र छेकम्पार भएर चीन प्रवेश गर्नेहरूसँग जगतबाटै कर असुल्न सकिने कार्कीको भनाइ छ । सिर्दीबासको जगत भएर चीन जाने गरिन्छ ।
यस क्षेत्रको मुख्य नाकाको रूपमा जगत रहेको छ । जगतबाट जडिबुटी तथा गैरकानुनी वस्तुहरू ओसारपसार भइरहने भएकाले पनि सो ठाउँमा भन्सार कार्यालय सार्न लागिएको हो ।
एकदुई जनाले मात्रै भन्सार कार्यालयको काम गर्न नसकिने भन्सार कार्यालयका अशोक सिंखडा बताउँछन् । कार्यालयमा अहिले एक जनाको मात्र दरबन्दी रहेको छ । यहाँको भन्सारबाट देशभरको जडिबुटी ओसारपसार हुँदै आएको छ ।
चोरी निकासी नियन्त्रणका लागि प्रहरीको सहयोग लिनुपर्ने भएका कारण पनि सुरक्षाका दृष्टिले जगतमा कार्यालय राख्नु राम्रो हुने भन्दै राजनैतिक दलहरूले समेत सुझाव दिएका थिए