
कञ्चनपुर, ६ फागुन – सीप सिकेका बेरोजगार युवालाई लक्षित गरी कञ्चन डेभलपमेन्ट बैंक कञ्चनपुरले ऋण प्रवाह गर्ने भएको छ ।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घ र सो बैंकबीच सीप सिकेका दक्ष युवालाई ऋण दिने सहमति भएको कञ्चनपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
संघका अध्यक्ष गणेशदत्त जोशीले यहाँका बेरोजगार युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बैंक ऋण दिन सहमत भएको बताए ।
लगानीको अभावमा व्यवसाय सञ्चालन गर्न नसकेका बेरोजगार युवालाई यो कार्यक्रमले सहयोग पु¥याउने उनको भनाई छ ।
कञ्चन डेभलपमेन्ट बैंकले उद्यमशील व्यक्तिलाई २५ हजारदेखि दुई करोडसम्म ऋण प्रदान गर्ने योजना बनाएको अध्यक्ष शिवसिंह कार्कीले जानकारी दिए । आगामी आर्थिक वर्षदेखि उक्त ऋण प्रदान हुने बताइएको छ ।
अध्यक्ष कार्कीले विद्यमान बेरोजगारी हटाउन उक्त कार्यक्रम ल्याइएको जानकारी दिए । ‘स्थानीय स्तरमा रहेका बेरोजगार युवालाई सुलभ ब्याजदरमा धितोमा ऋण दिन लागेका हौँ’, उनले भने ।