
ललितपुर, ६ फागुन – पाटन सङ्ग्रहालयसँगै नेपाली वास्तुकलाको प्रदर्शनी कक्ष खोलिने भएको छ । पाटन सङ्ग्रहालय र विभिन्न दातृ निकायहरु जर्मनी, अमेरिकी राजदूत कोष, विश्व सम्पदा कोषलगायतको सहयोगमा वास्तुकला प्रदर्शनी कक्ष खोलिन लागिएको सङग्रहालयले जानकारी दिएको छ ।
सबै काम सकिसकेको भएपनि केही आन्तरिक व्यवस्थापनको काम बाँकी रहेकोले चैत महिनाको पहिलो साताबाट मात्रै सर्वसाधारणको लागि वास्तुकला प्रदर्शनी कक्ष खुल्ला गरिने पाटन सङ्ग्रहालयका अधिकृत सुरेशमान लाखेले बताए ।
वास्तुकला कक्ष हेर्नका लागि आगन्तुकले छुट्टै टिकट लिनु नपर्ने, पाटन सङ्ग्रहालय प्रवेशको लागि तिरेको प्रवेश शुल्कले नै नवनिर्मित वास्तुकला प्रदर्शनी कक्ष, मूलचोक, पाटन सङ्ग्रहालय र भण्डारखालको कमलपोखरी हेर्न सकिने अधिकृत लाखेले जानकारी दिए ।
उनका अनुसार प्रवेश शुल्कस्वरुप नेपालीका लागि २०, नेपाली विद्यार्थीका लागि १०, सार्क राष्ट्रका पर्यटकका लागि १५० र अन्य मुलुकका पर्यटकका लागि २५० शुल्क निर्धारण गरिएको छ ।
परम्परागत तरिकाबाट निर्माण गरिएको उक्त प्रदर्शनी कक्षमा विशेषगरी काठबाट बनेका वास्तुकलाका सामग्री र पाटनमा गरिने पूजा शैलीलाई देखाइने छ । पाटन सङ्ग्रहालयमा अहिलेसम्म मुख्यगरी मुर्तिकलाका वस्तुहरु देखाइँदै आइएको थियो ।