
गौशाला, ४ फागुन– कृषिलाई व्यावसायीकरण गरी रोजगारी सिर्जना गर्ने उद्देश्यले जिल्ला कृषि विकास कार्यालय महोत्तरीले युवालाई कृषि अनुदान दिने भएको छ ।
विभिन्न गाविसका ४० युवालाई यो वर्ष रु २४ लाख अनुदान उपलब्ध गराउने जिल्ला कृषि विकास कार्यालयका प्रमुख शङ्करप्रसाद साहले बताए ।
युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराई कृषिको व्यावसायीकरण गर्न कृषि विकास मन्त्रालयले सुरु गरेको अनुदान कार्यक्रम प्रभावकारी हुने उहाँको भनाइ छ ।
कार्यालयले कृषि व्यवसाय गर्न चाहने युवालाई ५० प्रतिशत अनुदान उपलब्ध गराउने उहाँले बताउनुभयो । उहाँका अनुसार कार्यालयले विदेशबाट फर्केका, विदेश जान लागेका र पूर्व माओवादी लडाकुलाई अनुदान वितरणमा प्राथमिकता दिएको छ ।
कृषि व्यवसाय गर्न अनुदान प्राप्तिका लागि १०० भन्दाबढीले आवेदन दिएकामा ४० युवालाई छनोट गरिएको हो । अनुदान प्राप्तिका लागि एक बिघा खेत निजी वा भाडामा लिएको अनिवार्य देखाउनुपर्ने प्रावधान थियो । कृषि व्यवसाय गर्न छनोट भएका युवालाई प्राविधिक सहयोगसमेत उपलब्ध गराउने कृषि कार्यालयले जनाएको छ ।
महोत्तरीलगायत इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, सप्तरी, उदयपुर, सिराहा, धनुषा, सर्लाही, सिन्धुली, रामेछाप, बारा, पर्सा, रौतहट, मकवानपुर, चितवन गरी देशभरका २५ जिल्लामा व्यावसायिक कृषिका लागि मन्त्रालयले अनुदान कार्यक्रम सुरु गरेको उनले जानकारी दिए ।
युवा विदेश पलायन हुन थालेपछि केही वर्षयता महोत्तरीमा कृषि कामदारको अभाव हुन थालेको छ । कार्यालयका अनुसार युवाले एक बिघा जग्गामा दुई मौसमको खेती गर्नुपर्ने र एक मौसमको फेरबदल पछिमात्रै थप अनुदान दिइनेछ ।
कृषि पेसामा अधिकतम मानिस संलग्न भए पनि परम्परागत र निर्वाहमुखी कृषि प्रणालीका कारण तरकारी, फलपूmल माछापालनलगायतका कृषि उपजमा महोत्तरी आत्मनिर्भर हुन सकेको छैन ।
वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमा नै स्वरोजगार बनाउने र कृषि क्षेत्रप्रति जिम्मेवार बनाउने उद्देश्यका साथ सो कार्यक्रम लागू गरिएको हो ।