५० करोड मूल्यका खसीबोका भारतबाट आयात

काठमाण्डु टुडे २०७० फागुन ४ गते ११:१२ मा प्रकाशित

khasi-boka2बाँके, ४ फागुन– नेपालगन्ज नाका भएर पछिल्लो ६ महिनामा करिब रु ५० करोड मूल्यबराबरका खसीबोका भारतबाट आयात गरिएको छ ।

क्षेत्रीय पशु क्वारेन्टाइनका अनुसार चालु आवको ६ महिनामा ९१ हजार ५०२ वटा खसीबोका र बाख्रा भारतबाट आयात गरिएको हो । मासुजन्य कारोबारमा नेपालगन्ज र आसपासका क्षेत्र भारतमा निर्भर भएको र ६ महिनाअघि राजधानीलगायत विभिन्न स्थानमा कुखुरामा बर्डफ्लु रोग देखापरेपछि भारतबाट नेपालगन्ज नाका हुँदै आयात गरिने खसीबोकाको संख्या बढेको हो ।

क्षेत्रीय पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख डा रामनन्दन तिवारीका अनुसार साउनमा १५ हजार ३२५, भदौमा १८ हजार ५ सय १८, असोजमा १९ हजार ६ सय ८७, कात्तिकमा १३ हजार ११, मङ्सिरमा १० हजार ९ सय ४९ र पुसमा १४ हजार १२ वटा खसीबोका तथा बाख्रा नेपालगन्ज नाका भएर भारतबाट भित्रिएका छन् । गएको असारमा नौ हजार ३३३ खसीबोका भारतबाट आयात भएकोमा साउनमा त्यो सङ्ख्या बढेर १५ हजार ३ सय २५ पुगेको हो ।

अघिल्ला वर्षमा असार र साउनमा भारतबाट भित्रिने खसीबोकाको सङ्ख्यामा खासै फरक नभए पनि यसपटक विभिन्न जिल्लामा कुखुरामा बर्डफ्लु रोग देखापरेका कारण भारतबाट खसीबोकाको आयात बढेको व्यवसायीले बताएका छन् ।

भारतको लखनउ, नानपारा, बहराइचलगायतका स्थानबाट नेपालगन्ज नाका हुँदै भित्रिने खसीबोका काठमाण्डु, पोखरालगायत पूर्वी तराईका जिल्लासम्म पुग्ने गरेको छ ।

खसीबोका आयातले सरकारलाई राजस्व प्राप्त भए पनि मासुका लागिमात्र बर्सेनि करोडौँ रुपैयाँ विदेसिने गरेको व्यवसायीहरु बताउँछन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us