
बाँके, ४ फागुन– बाँके जिल्लामा भारतीय मलको तस्करी बढेको छ ।
सरकारी अनुदानको मलभन्दा भारतीय बजारमा आधा सस्तोमा पाउन थालेपछि जिल्लामा भारतीय मलको तस्करी बढेको हो । कृषि सामग्री कम्पनी लिमिटेडले अनुदानमा दिने मलभन्दा दोब्बर सस्तोमा पाइने भएपछि कृषक र व्यापारीले अवैध बाटो हुँदै मल ल्याउने गरेका छन् । भारतीय क्षेत्रबाट कृषकभन्दा व्यापारीले बढी मुनाफाका लागि रासायनिक मल ल्याउने गरेका छन् ।
जिल्लामा पर्याप्त मात्रामा युरिया, डिएपी र पोटास मल मौज्दात रहे पनि सस्तो मूल्यको भारतीय मल आउने क्रम जारी छ । पुस महिनामा मात्र बाँके प्रहरीले भारतीय बजारबाट भित्र्याइँदै गरिएको २३ बोरा अवैध युरिया मल बरामद गरेको थियो ।
कृषि प्रयोजन र व्यापारिक प्रयोजनका लागि जिल्लाका भारतीय बजार क्षेत्रबाट अवैध बाटो भएर रासायनिक मल आउने गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका नायव उपरीक्षक प्रेमबहादुर बस्नेतले बताए ।
कृषि सामग्री कम्पनी लिमिटेडले प्रतिबोरा रु ९९६ मा युरिया मल बिक्री गरे पनि भारतीय क्षेत्रमा रु ३ सय १५ भारुमा मल पाइन्छ ।
रासस